पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि हुँदै, महानगर भित्र सार्वजनिक बिदा
नेत्र न्यौपाने
- १६ पुष, २०७९ १४:१८
- 112 Views

पोखरा।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिने छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्।विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए। उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन्।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ। भारतले बनारस रुट नदिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन्। चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो।
सन् २०१४ मे ३१ मा नागरिक उड्ड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो। २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो।