अल कासिम भ्रमणमा नेपाली राजदूत नरेश विक्रम ढकाललाई इस्लामिक सेन्टर बुराइदाद्वारा भव्य स्वागत
रामचन्द्र तिम्सिना- १९ भाद्र, २०८२ १२:०१
- 45 Views
अल कासिम – नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले गत २ सेप्टेम्बर, मङ्गलबार भव्य स्वागत गरेको छ।
इस्लामिक सेन्टर बुराइदाका प्रमुखहरू अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम, अबु फहद तुवैजरीको उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वयमा आयोजित कार्यक्रममा राजदूत ढकाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा एनआरएनए आइसिसी सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम अध्यक्ष बिनोद खड्का, उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका नेपाली विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।
सचेतक अलि हुसेनले सञ्चालन गरेको कार्यक्रममा इस्लामिक सेन्टरले विगतदेखि नै समस्यामा परेका नेपाली श्रमिकलाई खान, बस्न र नेपाल फर्किने सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि श्रमिक हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाइएको थियो।
कार्यक्रममा समाजसेवी विशाल श्रेष्ठले इस्लामिक सेन्टरले श्रमिकका लागि मनोरञ्जनात्मक कार्यक्रमदेखि हकहितका गतिविधिसम्म उल्लेखनीय योगदान दिएको भन्दै संघ–संस्था र सेन्टरबीच नङ–मासुको जस्तै सम्बन्ध रहेको बताए। त्यस्तै, इस्लामिक सेन्टरका सामाजिक कल्याण तथा सचेतना विभाग प्रमुख अबु फेरासले नेपाली समुदायलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोगहरू गर्दै आएको र आगामी दिनमा अझ व्यवस्थित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 
महामहिम राजदूत ढकालले आफ्नो मन्तव्यमा इस्लामिक सेन्टरले श्रमिक हितमा गर्दै आएका कार्यहरूको प्रशंसा गर्दै सचेतक अलि हुसेनलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले “हामी सबै मानव हौँ, मानवताका आधारमा एक–आपसमा सहयोगी भावनामा बाँची रहनेछौँ” भन्दै दूतावासको तर्फबाट सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। साथै नेपाल भ्रमणमा आउन आग्रह गर्दै आवश्यकतामा दूतावास सहयोग गर्ने आश्वासन समेत दिनुभयो।
कार्यक्रममा राजदूतज्यूलाई मायाको चिनो प्रदान गरिएको थियो भने, अतिथि मनिष कोइरालाले अल कासिम क्षेत्रमा नेपाली श्रमिकका लागि एउटा सेल्टरको माग पनि प्रस्तुत गरे। कार्यक्रममा उपस्थित सबै महानुभावलाई इस्लामिक सेन्टरले उपहार प्रदान गरेको थियो।
आठ महिना अघि राजदूत पदमा नियुक्त भएर रियाद आउनुभएका महामहिम ढकालको यो अल कासिम पहिलो भ्रमण रहेको र यस भव्य स्वागत कार्यक्रममा उहाँ निकै खुसी भएको बताइएको छ।
