दम्माम (साउदी अरब) ।
काठमाडौं–दम्माम मार्गमा उडान भर्ने हिमालय एयरलाइन्सको जहाजमा पुनः उडुसको समस्या देखिएको छ। यात्रुहरूले उडानका क्रममा उडुसले टोकेको गुनासो गर्दै असहज र तनावपूर्ण अनुभव सुनाएका छन्।
२५ अक्टोबरका दिन दम्मामतर्फ गइरहेको हिमालय एयरलाइन्सको उडान नम्बर H9559 मा सिट नम्बर 2B मा बसेका यात्रु बुद्धिमान तामाङलाई उडुसले टोकेपछि घाँटी पछाडिको भाग सुन्निएको र रातो दाग देखिएको बताइएको छ।
तामाङका अनुसार, टोकाइपछि शरीरमा एलर्जी र जलन भएको र पाँच घण्टासम्मको यात्रा अत्यन्त असजिलो र मानसिक रूपमा तनावपूर्ण बनेको थियो। उनले भने, “मैले धेरै अन्तर्राष्ट्रिय उडान गरिसकेको छु, तर यस्तो अनुभव पहिलो पटक भयो। सरसफाइमा ध्यान नदिँदा यात्रुहरूलाई कष्ट भोग्नुपरेको हो।”
घटनाबारे तत्कालै क्याबिन क्रूलाई जानकारी गराउँदा उनीहरूले फोटो र भिडियो खिचेर “माथिल्लो तहमा पठाइनेछ” भन्दै सामान्य जवाफ दिएको बताइन्छ। तर, एयरलाइन्सले हालसम्म घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया वा यात्रुप्रति क्षतिपूर्तिको जानकारी सार्वजनिक गरेको छैन।
यसअघि पनि हिमालय एयरलाइन्सकै दुबई उडानमा उडुस भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। पटक–पटक यस्ता घटना दोहोरिँदा एयरलाइन्सको सरसफाइ, यात्रु स्वास्थ्य सुरक्षा र गुणस्तरीय सेवा व्यवस्थापनप्रति गम्भीर प्रश्न उठेका छन्।
उड्डयन सरोकारवाला निकायहरूले यस्तो अवस्थाको पुनरावृत्ति रोक्नका लागि जहाजहरूको नियमित कीटनाशक उपचार (Disinsection) र सफाइ प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।