स्थानीय युवाहरूको विरोधपछि , लुङग्री गाउँपालिकाले नगर प्रहरीको विज्ञापन स्थगित
पिटि अनलाईन न्यूज- २६ आश्विन, २०८२ २२:५२
- 18 Views
रोल्पा।
जिल्लाको लुङग्री गाउँपालिकाले हालै प्रकाशित नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान पदका लागि गरिएको विज्ञापन स्थगित गरेको छ। स्थानीय युवाहरूको तीव्र विरोध, जनचासो र पारदर्शिता सम्बन्धी प्रश्नहरू उठेपछि गाउँकार्यपालिकाको बैठकले विज्ञापन स्थगित गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले २०८२ साल असोज २१ गते सूचना नम्बर ०४–२०८२/०८३ र ०५–२०८२/०८३ मार्फत २ जना पुरुष र १ जना महिलाका लागि नगर प्रहरीका पदहरूमा दरखास्त आह्वान गरेको थियो। उक्त विज्ञापन लुङग्री गाउँपालिकाको प्रशासनिक भवनको सुरक्षाका लागि गरिएको भनिएको थियो।
तर विज्ञापन सार्वजनिक भएसँगै स्थानीय युवाहरूले सामाजिक सञ्जालमा तीव्र विरोध जनाएका थिए। उनीहरूले गाउँपालिकाको कार्यालय नजिकै नै अस्थायी प्रहरी चौकी रहेको अवस्थामा पुनः नगर प्रहरी नियुक्ति आवश्यक नभएको तर्क गर्दै विज्ञापन फिर्ता लिन माग गरेका थिए।
यसअघि पिटि अनलाइनले “लुङग्री गाउँपालिकामा नगर प्रहरी भर्तीको तयारी, युवाहरूको संजालमा तीव्र विरोध” शीर्षकमा समाचार प्रकाशित गरेको थियो, जसमा युवाहरूले विज्ञापनप्रति असन्तुष्टि जनाउँदै प्राथमिकता विकासमुखी योजनामा दिन सुझाव दिएका थिए।
विज्ञापनप्रति आलोचना बढ्दै गएपछि गाउँकार्यपालिकाको मिति २०८२/०६/२६ मा बसेको चौथो बैठकले सो विज्ञापन हाललाई स्थगित गर्ने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत अनिल रिजालद्वारा जारी सूचनामा भनिएको छ,
“हाललाई विज्ञापन स्थगित गरिएको व्यहोरा सर्वसाधारणलाई जानकारीका लागि प्रकाशित गरिएको हो।”
स्थानीय युवाहरूले गाउँपालिकाको यो निर्णयको स्वागत गरेका छन्। उनीहरूले पारदर्शिता, निष्पक्ष र जनचासोअनुसारका निर्णयमा ध्यान दिन आग्रह गरेका छन्। साथै, आगामी दिनमा गाउँपालिकाले विकास, रोजगारी र सुशासनमा प्राथमिकता दिनुपर्ने माग पनि गरेका छन्।
यसअघि नै दशैं अघि सरकारी मोटरसाइकल दुरुपयोग र बजेट वितरणमा अनियमितता सम्बन्धी आरोपपछि गाउँपालिकाको निर्णय प्रक्रिया जनचर्चामा परेको थियो। नगर प्रहरीको विवादपछि फेरि एकपटक गाउँपालिकाको नीति, प्राथमिकता र पारदर्शिताप्रति प्रश्न उठेको देखिन्छ।
