लुङ्ग्री गाउँपालिकामा नगरप्रहरी भर्तीको तयारी, युवाहरूको संजालमा तीव्र विरोध
पिटि अनलाईन न्यूज
- २२ आश्विन, २०८२ ००:४८
- 2 Views

रोल्पा । जिल्लाको लुङ्ग्री गाउँपालिकाले हालै सञ्चालनमा आएको प्रशासनिक भवनको सुरक्षाका लागि नगरप्रहरी नियुक्त गर्ने तयारी थालेको छ। पालिकाले केही दिनअघि सूचना प्रकाशन गर्दै २ पुरुष र १ महिलाका लागि करारमा नगरप्रहरी भर्ती गर्न आवेदन आह्वान गरेको हो।
तर उक्त निर्णयप्रति स्थानीय युवाहरूले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जनाएका छन्। गाउँपालिकाको कार्यालय नजिकै नै अस्थायी प्रहरी चौकी रहेको अवस्थामा नगरप्रहरी आवश्यक नदेखिएको भन्दै उनीहरूले विज्ञापन फिर्ता लिन माग गरेका छन्।
लुङ्ग्री गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न हुनु अघि नै विभिन्न कारणले चौतर्फी आलोचनामा परेको थियो। अब पुनः नगरप्रहरीको विज्ञापनले पालिकाको निर्णयप्रति प्रश्न उठाएको छ।
यसैबीच, पालिकाकै सत्तारूढ दलका केही कार्यकर्ताले समेत विकासमुखी योजनामा बजेट केन्द्रित गर्न नेतृत्वलाई सुझाव दिएका छन्। दशैं सकिएलगत्तै सरकारी मोटरसाइकल दुरुपयोगको आरोप सार्वजनिक भएपछि जनप्रतिनिधिहरू जनआक्रोशको सामना गर्दै आएका छन्।
नगरप्रहरीको विषयले फेरि पालिकाभित्र निर्णय प्रक्रिया, प्राथमिकता र पारदर्शिताप्रति जनताको चासो र असन्तुष्टि बढाएको देखिन्छ।