वर्षौँदेखि बेपत्ता भएका नुवाकोटका दुई दाजुभाइको खोजीमा परिवारको हार्दिक अनुरोध: “जहाँ छौ भाइ, फर्कि आउ”
पिटि अनलाईन न्यूज
- २८ जेष्ठ, २०८२ २३:०१
- 5 Views

नुवाकोट, – एकै परिवारका दुई छोराहरू ३० वर्षभन्दा बढी समयदेखि बेपत्ता छन्। नुवाकोट म्यागङ – ६ (साबिक सामरी पन्चायत-२, टक्सार) का ८८ बर्षिय लेखनाथ सापकोटाका साईला छोरा माधब सापकोटा र कान्छा छोरा बासु सापकोटा सम्पर्क बिहिन भएका र उनीहरूको खोजीमा परिवारले आँशु झार्दै देश–विदेशका नेपालीहरू, मानवतावादी संस्था, र मिडियामा हार्दिक अपिल गरेका छन्। बुद्व बुवाको आफु छोराहरुको मुख हेरेर बिदा हुन चाहेको बताउदै खोजि गरिदिन अनुरोध गरेको छ ।
३४ वर्षदेखि सम्पर्कविहीन बासु सापकोटा
नुवाकोट जिल्लाको म्यागाङ गाउँपालिका–६ (साबिक सामरी–२) निवासी बासु सापकोटा सन् १९९० (वि.सं. २०४६ साल फागुन) मा भारतीय सेनामा भर्ती हुन बाबु लेखनाथ सङै भारत गएका थिए। भर्ती प्रक्रिया ढिला भएपछि उनलाई बाबुले इलाहाबादस्थित एक भारतीय प्रहरी अधिकृतको घरमा घरेलु कामदार रूपमा छोडेर नेपाल फर्किए।
सुरुका केही महिनासम्म उनले चिठीमार्फत परिवारसँग सम्पर्क राखे। तर करिब एक वर्षपछि अचानक सम्पर्कविहीन बने। बाबुले इलाहाबाद गएर खोज्दा घरधनीले मात्र “छोरो झोला बोकेर घर जान्छु भन्दै गएको हो” भने। त्यही दिनदेखि बासु सम्पर्कमा छैनन्। अहिले ३४ वर्ष पुग्दा पनि न उनको खबर छ, न कुनै पत्ता।
२०४९ सालदेखि हराइरहेका माधव सापकोटा
बासुका दाजु केशब सापकोटाका साइलो भाइ माधव सापकोटा पनि २०४९ साल असोज महिनामा बेपत्ता भए। बिहानै उठेर घरायसी काम सकेर नाम्लो र हसिया बोकेर घाँस काट्न निस्किएका माधव साँझसम्म घर फर्केनन्। खोजतलास गर्दा घरमा उनका लुगा र शैक्षिक प्रमाणपत्र समेत नभेटिएपछि परिवारले उनी पहिले नै कतै जान तयार भएर बसेको हुनसक्ने अनुमान गरेको थियो। यति धेरै वर्ष बित्दा पनि उनलाई न कसैले देखेको छ, न कुनै जानकारी आएको छ।
परिवारको भावुक अपिल
माईलो दाजु केशब सापकोटा भक्कानिँदै भन्छन्,
“भाइ बासु, तिमीले पठाएका चिठी अझै पनि ज्यूँका त्यूँ राखेका छौं। हरेकपल्ट पढ्दा आमाको याद आउँछ, जसले तिमीलाई ११ वर्षसम्म खोजिन्। बुबा पनि अहिले कमजोर भइसक्नुभएको छ। म आफैँ १८ वर्षदेखि विदेशमा छु, तिमीलाई खोज्दै। तिमी जहाँ छौ, फर्कि आऊ। हाम्रो ढोका तिमीलाई सधैँ खुला छ।”
त्यस्तै,
“भाइ माधव, यदि तिमी कहीँ सुरक्षित छौ भने फर्कि आऊ। दुःख सुख सँगै बाँड्न तयार छौं। हामी तिमीलाई माया गर्छौं, सम्झन्छौं। यो पीडा सहन सक्दिनौं,” भन्दै परिवारका सदस्यहरूले गहभरि आँशु पुछेका छन्।
सार्वजनिक अनुरोध र सम्पर्क विवरण
परिवारले माधब र बासुको पुरानो तस्बिर पनि सार्वजनिक गर्दै उनलाई देखेका, चिनेका वा कुनै जानकारी राख्ने जो–कसैलाई तत्काल सम्पर्क गर्न हार्दिक अनुरोध गरेका छन्।
सम्पर्क:
📞 ९८४१७४८१९५ – केशब सापकोटा
📞 ९८४००६६१६२
🙏 यदि तपाईंले बासु सापकोटा वा माधव सापकोटालाई कतै देख्नुभएको छ, वा कुनै जानकारी छ भने कृपया तुरुन्त सम्पर्क गर्नुहोस्।
🙏 यस सूचनालाई सकेसम्म धेरैमा पुर्याइदिनुहोस्, सामाजिक सञ्जालमा शेयर गर्नुहोस् – तपाईंको सानो सहयोगले परिवारमा आशाको उज्यालो फर्कन सक्छ।