श्री अजिङरे माविको ४२ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
- पिटि अनलाईन न्यूज
- ७ माघ, २०८१ ०५:०९
- 3 Views
नुवाकोट , अन्जान गुभाजु ।
नुवाकोटको बिदुर–१३ स्थित श्री अजिङरे माविले आफ्नो ४२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री श्री बहादुर सिंह लामाले विद्यालयको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको सुधार र प्रवर्द्धनका लागि सामुदायिक विद्यालयहरूको योगदान प्रशंसनीय रहेको भन्दै विद्यालयको प्रगतिको प्रशंसा गर्नुभयो। साथै, मुख्यमन्त्री लामाले “शिक्षा मात्र एक यस्तो साधन हो, जसले समाजको रूपान्तरण गर्न सक्छ,” भन्दै विद्यालयले स्थानीय स्तरमा शिक्षा विकासमा खेलेको भूमिकाको सराहना गर्नुभयो।
कार्यक्रममा जिसस नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरी, उपप्रमुख दल ब तामाङ, बिदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ, उपप्रमुख श्रीमती प्रभा बोगटी, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। अभिभावकहरूको बाक्लो उपस्थिति र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतीले कार्यक्रममा रौनक थप्यो।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र भण्डारीले विद्यालयको आय-व्यय र प्रगति अवस्थाबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको जानकारी दिनुभयो। गत वर्ष एसईईमा उत्कृष्ट नतिजा (ए+) ल्याउन सफल छात्र छितिज तामाङलाई शिक्षक श्री कृष्ण थापाको नेतृत्वमा संकलन गरिएको २२ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरियो।
यसै अवसरमा नेपाली साझा मञ्च साउदीका संस्थापक तथा संरक्षक श्री कृष्ण पुरीले बिदुर–१३ का गरिब तथा पीडित ८ जना विद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामग्री प्रदान गर्नुभयो। यो सहयोगले शिक्षा र समाजसेवाका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उहाँप्रति विद्यालयले आभार व्यक्त गर्यो।
कार्यक्रमले विद्यालयको प्रगति र सामाजिक योगदानलाई झल्काएको छ, जसले शिक्षा र समाजसेवाको महत्वलाई बलियो बनाएको छ।