दम्माम, साउदी अरेबिया |
नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साउदी अरबको संयुक्त प्रयासमा पूर्वी क्षेत्रको दम्माममा राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ।
दशैं, तिहार र छठ पर्वको कारण लामो समयसम्म रोकिएका राहदानी नविकरण प्रक्रियाका लागि २०२४ अक्टोबर ३० सम्म आवेदन दिएका २,२०३ जना सेवाग्राहीको राहदानी दम्मामको सिको गार्डेनमा वितरण गरिएको हो।
पूर्वी क्षेत्रका दम्माम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतका स्थानमा रहेका सेवाग्राहीहरूले राहदानी वितरण प्रक्रियालाई सरल र प्रभावकारी बनाइएकोमा खुसी व्यक्त गरेका छन्। यस सेवाले विशेष गरी पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूको व्यस्त दैनिकीमा सहजता ल्याउने उद्देश्य राखेको थियो।
कार्यक्रममा नेपाली राजदूतावासका पूर्वी क्षेत्रका स्थानीय अधिकारी नारायण पासवानको नेतृत्वमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको समन्वयमा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू, तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले श्रमिकहरूको सेवामा समर्पित राजदूतावास, संघ-संस्था, स्वयंसेवीहरू तथा समन्वयमा खटिएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले राहदानी वितरणमा सक्रिय रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली श्रमिकहरूको हितका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिइन्।