तारकेश्वरको छापडाँडाँमा वसले किचेर एक महिलाको मृत्यु
रामचन्द्र तिम्सिना
- ६ चैत्र, २०८१ १२:१४
- 8 Views

नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका–१, दान्सिङ छाप डाँडामा हिजो साँझ करिब ५ बजे बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
काठमाडौँबाट तारकेश्वरतर्फ जाँदै गरेको बा २ खा ६८०४ नम्बरको बसबाट ओर्लिने क्रममा दुर्घटना भएको हो। मृतक तारकेश्वर–१ की स्थायी बासिन्दा थिइन्। उनी आफ्ना आफन्तको क्रियाक्रम सकेर तारकेश्वर–५ निग्लेनीबाट घर फर्किँदै थिइन्।
बसबाट ओर्लिन लाग्दा चालकले ध्यान नदिँदा सवारी अघि बढेपछि उनी चेपिएर गम्भीर घाइते भइन्। घटनास्थल सदरमुकामबाट करिब आधा घण्टाको दूरीमा रहेकाले एम्बुलेन्स समयमा नपुग्दा उद्धारमा ढिलाइ भयो। स्थानीयबासीका अनुसार करिब दुई घण्टापछि मात्र एम्बुलेन्स आइपुगेको थियो। गम्भीर घाइते उनलाई त्रिशूली अस्पताल लगियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।
घटनापछि स्थानीयबासी आक्रोशित भएका छन्, जसका कारण स्थिति संवेदनशील बनेको छ। प्रहरीले हालसम्म मृतकको नाम खुलाएको छैन। स्थानीयहरूले यस्ता दुर्घटनाको न्यूनीकरणका लागि तत्काल प्रभावकारी उपाय अपनाउनुपर्ने माग गरेका छन्।
स्थानीयका अनुसार बस चालक यात्रुहरूमाथि रिसाउने, छिटो झार्न दबाब दिने र हतारिने बानी राख्ने गर्थे। यही लापरवाहीकै कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको उनीहरूको आरोप छ।
हाल बस चालक प्रहरी नियन्त्रणमा छन्, र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।