काठमाडौंमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
पिटि अनलाईन न्यूज
- २ फाल्गुन, २०८१ २०:३७
- 60 Views

काठमाडौं, काठमाडौंको नागार्जुन नगरपालिका–३ मा पहिलो Lion Bagmati Province Level Invitation Taekwondo Championship-2081 आयोजना गरिने भएको छ। Lion Marts Art Taekwondo Dojang को आयोजनामा फागुन ३ गते शनिबार प्रतियोगिता हुने भएको हो।
बागमती प्रदेशका २० भन्दा बढी टिमका करिब २५० खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगिता नागार्जुन नगरपालिकाको मिलन चोक प्राङ्गणमा सञ्चालन हुनेछ। प्रतियोगिता संयोजक अनिल राज शाक्यले एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा Lion Marts Art Taekwondo Dojang का अध्यक्ष रोहित गुरुङ र नागार्जुन नगर तेक्वान्दो विकास समितिका सचिव अमृत तामाङले समेत उपस्थिति जनाएका थिए।
संयोजक शाक्यका अनुसार प्रतियोगिता एकदिवसीय हुनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई ट्रफी तथा विभिन्न पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन तथा समापन बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिङ लामा द्वारा गरिने कार्यक्रम तय गरिएको छ। खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित बनाउँदै स्वस्थ शरीर तथा मस्तिष्कको विकास गराउनुका साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको संयोजक शाक्यले बताए।