हाजिरी जमानतमा रिहा भए महरा
- रामचन्द्र तिम्सिना
- ९ चैत्र, २०८० १४:४४
- 36 Views
काठमाडौ /
सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई रिहा गरेको हो।
अदालतले दिएको चार दिनको म्यादभित्रै महराको बयान सकिएको र स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई हाजिरी जमानतमा छाड्न अनमुति दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बताएको छ।
सिआइबीले महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाएको छ। कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन्। चार दिन प्रहरी हिरासतमा राखिएका महरासँग सिआइबी र सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो।
सुन तस्करी गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएपछि प्रहरीले महरामाथि अनुसन्धान गरेको हो। बयानका क्रममा भने महराले वाङसँग चिनजान भए पनि कारोबारमा संलग्न नभएको बयान दिएका छन्।