लाली छैन कतै यहाँ मखमली मालाहरू दासछन् (कबिता-तिहार विशेष ) नमराज लामिछाने-PT Online News
पिटि अनलाइन न्यूज
- १० कार्तिक, २०७६ २३:०९
- 1004 Views

कविता : तिहार विशेष
नमराज लामिछाने
फुल्दै छन् ढकमक्क छन् मखमली पाखा पखेराभरि ।
टाढा याे परदेशमा छु बहिनी! एक्लै हराएसरि ।
हाम्रा चाड अनेक बार दिलकाे छाेएर जान्छन् उता ।
कैयौं दुःख भुलेर हाँस्छ दिल याे आभास उड्छन् कता ।
🌸🌸१🌸🌸
लाली छैन कतै यहाँ मखमली मालाहरू दासछन् ।
खाली देख्छु निधार भन्छ पसिना टीकाहरू त्रासछन् ।
यस्तै हाे श्रमको अमूल्य सपना संसार भाेग्ने विधि ।
केही वर्ष अझै तिहार घरमा बन्दैछ खल्लाे दिदी ।
🌸🌸२🌸🌸
पक्कै आउछ देउसी रमझमी देख्दैछु दृश्यावली ।
लक्ष्मी दृष्टि दया सधैं बनिदिउन् रम्दैछ दीपावली ।
भैली गीत र भक्ति छन् शरदमा सारा उज्यालो छरि ।
आशीर्वाद समान जाे मिलिरहाेस् नारायणी श्रीहरी ।
🌸🌸३🌸🌸
हे काैवा उडि जा समस्त भनिदे याे जिन्दगीकाे कथा ।
पुज्छाै हे यमदूत प्रेम मनले सन्देश राम्रो बता ।
आज्ञापालक द्वारपाल घरकाे पूजा बफादारकाे ।
भ्रष्टाचार अशान्ति दानवपना हाेस् अन्त्य गद्दारकाे ।
🌸🌸४🌸🌸
गाई-गाेरु तथा जसै कुकुरकाे पूजा थरीका थरी ।
माला फूल र अक्षता अबिरछन् थालीविषे केशरी ।
हाम्रो माैलिक चाडबाड गिरिझै अग्लाे रहाेस् भावना ।
फुल्छन् फूलविशेष झन् मखमली मेराे यही कामना ।
🌸🌸५🌸🌸
कविता : तिहार विशेष
छन्द : शार्दुलविक्रीडित
रचनाकार : नमराज लामिछाने
ठेगना: नुवाकोट /काठमाडौ