कतारबाट तारकेश्वर गाउँ पालिका अध्यक्ष शिव अधिकारीलाई खुल्लापत्र।
- पिटि अनलाईन न्यूज
- १४ आश्विन, २०८० १९:३३
- 342 Views
नुवाकोट ।
जिल्लाको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीलाई वैदेशिक रोजगारिका क्रममा रहेका एक युवाले खुल्लापत्र लेखेका छन। सोही वडाका युवाले १० सैयाको अस्पताल अन्यत्र स्तानान्तरण गरिएको विषयमा जिज्ञासा र स्पस्टिकरण सहितको पत्र लेखेका हुन।
अघिल्लो सरकारले तारकेश्वर १ मा शिलान्यास गरेको अस्पतालको कार्यप्रगती ६० प्रतिशत भैसकेको अवस्थामा अन्यत्र सारिने सहितको पत्र प्राप्त भएपछि जग्गादाता र स्थानीय अन्योलमा परेका छन भने हाल गाउँपालिका कार्यालयमा तालाबन्दी सहितको आन्दोलन जारी रहेको रहेको छ।
उनले आफ्नो पत्रमा लेखेका छन:
तारकेश्वर गाउँ पालिका अध्यक्ष शिव अधिकारी “अविरल”ज्यु। नमस्कार
आराम छु आरामताको कामना गर्दछु।
विगत केही वर्ष देखि तारकेश्वर गाउँ पालिकामा समाज सेविको राम्रो छवि बनाएर गत स्थानीय निर्वाचन बाट तारकेश्वर गाउँ पालिका सरकार प्रमुख हुनु भयो।
समाज सेविको छवि बनाएर जनताको वाहवाही बटुली सकेका व्यक्ती स्थानीय सरकारकै प्रमुख हुँदै गर्दा अब साच्चिकै समृद्ध तारकेश्वर बन्ने भो।नेपालको ७५३ गाउँ पालिका मध्यको एउटा नमुना गाउँ पालिका हुने भो भनेर आम जनताको खुट्टा भुइँमा थिएन।
जब तपाईंले स्थानीय सरकार प्रमुखको हैसियतले आफ्नो कार्यभार सम्हाल्दै अघि बढ्नु भयो।तब प्रसंशा योग्य विषयमा भन्दा विवादित विषयमा बढी मुछिनु भयो।भलै यसमा तपाइलाइ कसैले विवादित बनाउन खोज्नु भयो या तपाइँको आफ्नै कर्मले विवादित हुनु भयो।विस्तारै तथ्य र प्रमाणले पुष्टि गर्दै जाला।
तर समग्रमा अहिलेसम्मको तपाईंको कार्यशैली र परिणाम हेर्दा अरु नेता र तपाईमा कुनै पृथक देखिन।जुन जोगि आए पनि कानै चिरेको भन्ने भनाइ सिद्ध हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ।तर म चाहन्छु त्यो भनाइलाई तपाईले झुठो सावित गर्न सकोस्।
भनिन्छ नि इमान्दारीता नै सर्वोत्तम नीति(honesty is the best policy)हो।यदि हामिमा इमान्दारीता भयौं भने व्यक्ति उत्तरदायी र नैतिकवान बन्छ। तर बिडम्बना यो छ कि अहिले मानिसमा हुनुपर्ने मुख्य गुण इमान्दारिता हराउदै गएको छ।जसका कारण समाजमा भ्रष्ट,दलाल र तस्करहरुको हावी बढ्दै गएको छ।मैले यसो भन्दै गर्दा तपाई प्रती इमान्दारीताको प्रश्न कदापि गरेको हैन।यसलाइ अन्यथा नलिनु होला।प्रसङ्ग वस जोडेको मात्र हुँ।
अध्यक्ष ज्यु,एक पालिका एक आधारभुत अस्पताल बनाउने सरकारको नीति अन्तर्गत मिति २०७७/०४/२८ मा मन्त्रालय बाट तारकेश्वर गाउँ पालिकाको हकमा दाङसिङ स्वास्थ्य चौकिलाइ स्तरोन्नति गर्दै १० शैय्याको आधारभुत अस्पताल बनाउने निर्णय भइ आएको तर हालै तपाइँको नेतृत्वको पालिका कमिटिको बैठकले उक्त अस्पताल स्थानान्तरण गर्ने निर्णय गरिएको रहेछ।
तपाइले निर्णय गर्नु भएको यो विषयको बारेमा तपाइँ निकट केही व्यक्तिहरु बाहेक आम जनता कसैलाइ जानकारी रहेनछ।मैले यो विषयमा सुचना पाए लगत्तै यसको सत्य तथ्य बुझ्दै जाने क्रममा गाउँ कमिटिले गरेको निर्णय मुताविक स्वास्थ मन्त्रालय बाट लेखेको परिपत्र फेला परे।के कति कारणले स्थानान्तरण गर्न लागेको हो भनेर मैले वडा अध्यक्ष चक्र बहादुर तामाङ जि संग फोन सम्पर्क गरेर बुझ्न खोज्दा उहाँले यो विषयमा केही पनि जानकारी नभएको जवाफ दिनु भयो।
वडा अध्यक्ष जस्तो जिम्मेवार ओहदामा बसेको जनप्रतिनिधि बाट यस्तो नाजवाफ पाउँदा मलाइ लज्जास्पद बोध भयो।त्यसपछि यस्तो संवेदनशील विषयलाई यतिकै गुमराहमा राख्नु मेरो नैतिकताले दिएन।
यो विषयको वास्तविकता आम सर्वसाधारण जनतालाई अवगत होस भनेर जब मैले आधिकारिक त्यो स्वास्थ्य मन्त्रालय बाट आएको पत्र फेसबूकको माध्यम बाट सामाजिक संजालमा सार्वजनिक गरे तब मात्र यो विषय आम जनचासोको मुद्द बन्न गयो।त्यसपछि गाउँलेको भेला बाट वडा अध्यक्ष ज्यु संग यो विषयमा स्पस्टिकरण माग्ने देखी तपाईं पालिका अध्यक्षलाई भेटेर यो विषयमा आम जनताले बुझ्न चाहेकै थियो तर तपाइँको कार्य व्यस्तताले भनु या के कारणले हो जनता संग प्रत्यक्ष भेटेर यो विषयमा साक्षात्कार गर्ने उत्सुकता नदेखाएको आभास भयो।
तपाईले यो समस्याको समाधान गर्न चासो नदेखाएको या चासो हुदाहुदै पनि दुई पक्ष विचको असमझदारीले पालिकामा भएको घटना प्रती दुख लागेको छ।तपाइँको सचिवालय मार्फत जारी गरेको फेसबूक विज्ञप्तिमा भवन गोर्स्याङमा बने पनि अस्पतालको दरबन्दी र अन्या सेवा सुबिधा दाङसिङमा नै आउँछ भन्ने तथ्यहिन भनाइले आम जनता बिश्वस्त हुन सकेको छैन।त्यसैले यो विषयलाई जतिसक्दो छिटो तथ्य र प्रमाणले पुष्टि गरिदुन हुन विनम्र अनुरोध गर्दछु।
अध्यक्ष ज्यु,भगवान बाट त कमिकमजोरी हुन्छ भने हामी मान्छे बाट नहुने कुरै भएन।तर गल्ती र कमिकमजोरिलाइ ढाकछोप गरेर पछि बिस्फोट हुन दिनु भन्दा आत्मालोचना र समिक्षा गरेर अघि बढ्नु महानता हो।त्यसैले विवेक पुर्ण र न्यायोचित ढंगले यो समस्याको समाधान गरेर आफुलाइ सफल नेतृत्व सावित गर्नुहुनेछ भन्नेमा म आशावादी छु।
अन्तमा आगामी दिनहरूमा जनचाहना र समग्र तारकेश्वरको समृद्धिको लागी डटेर लाग्नु हुनेछ भन्नेमा पनि पुर्ण अपेक्षा राखेको छु।यहाँको बाकी कार्यकाल सफल र ऐतिहासिक बनोस् भन्ने शुभकामनाका साथ बिदा हुन चाहन्छु।धन्यवाद
फुल बहादुर मम्ब तामाङ
दोहा, कतार