भेरी अस्पतालको कोभिड वार्ड भरिदा अवस्था जटिल बन्दै
- पिटि अनलाइन न्यूज
- १ बैशाख, २०७८ २०:२६
- 182 Views
काठमाडौँ ।
भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड कोरोना संक्रमितहरुले भरिए पछि अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था जटिल बनेको छ।
भेरी अस्पतालले १४२ बेडको कोभिड वार्ड बनाएको भए पनि जनशक्ति अभावका कारण ६५ बेडमात्रै सञ्चालनमा रहेको छ। भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले कोरोनाका बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको र सबै बेड भरिएको बताए ।
उपचारका लागि भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन दिइएको छ । २४ जना आईसीयूमा भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । पछिल्लो समय उपचारका लागि भर्ना भएका कोरोना संक्रमितहरुलाई होम आइलोसनमा राख्न नमिल्ने भएकाले बेड भरिएको अस्पताल प्रमुख डा. थापाले बताए ।
प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मी पठाएको छ । उक्त जनशक्तिले सबै बिरामीको उपचार सम्भव नरहेको अस्पतालले जनाएको छ । मंगलबार ११३ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।