कोरोनाले पुँजीवादको आयु थप लम्ब्याउनेछ – मोहन गोले
पिटि अनलाइन न्यूज
- ४ बैशाख, २०७७ १६:२३
- 545 Views

मोहान घोले
कोरोनाको कारण केही मुलुक बाहेक संसारको पुँजी बजारहरु ठप्प रहेको अवस्थामा यसले विश्व अर्थतन्त्रमा पार्ने असरप्रति यतिबेला अर्थविद्हरु चिन्तित छन् । विश्व बैंकले यसअघि नै अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्ने दाबी गरिसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट नेपालमा २ खर्ब घाटा हुनसक्ने अनुमान गरेका छन् । केही बुद्धिजीवीले भने सामाजिक सञ्जालमा यसले पुँजीवादी युगको समाप्त भई अब विश्व एकैपटक समाजवादी ब्यबस्था तर्फ अघि बढ्ने लेखेको पनि देखे । तर मलाई लाग्छ, यसरी मुख मिठ्याउनुको कुनै अर्थ छैन । यसखालको महमारीले त पुँजीवादी ब्यवस्थालाई मौसमी खोकी मात्रै लाग्छ । बरु उल्टै यसले आयु लम्ब्याउनेछ ।
हामीले के बुझ्नुपर्छ भने समाज ब्यवस्था चल्ने चक्र र मानिसको जीवन एउटै होइन । मानिसलाई रोग लाग्यो र समयमा उपचार पाएन भने ऊ मर्छ । तर समाज ब्यवस्थामा रोग लागेर आर्थिक संकट आयो भने त्यसले यसलाई उल्टो आयु बढाउँछ । यसले अझ अर्को स्वरुपमा विकास गरेर थप समय बाँच्ने गरेको पाइएको छ । जसरी अहिले यसले साम्राज्यवादी रुप धारण गरेको छ । यतिबेला साम्राज्यवाद मार्फत संसारका पुँजिपतिहरु नाफाको लागि एकठाउँमा उभिएका छन् र उनीहरु विश्वलाई लुट्न सफल भएका छन् । नेपाल जस्ता औपनिवेशिक मुलुकका सरकारलाई आफ्नो माल बेच्ने ब्रोकर बनाएका छन् । अहिले विश्वका ५०० बहुराष्ट्रिय कम्पनीको मालिक संसारको २०० जना धनाढ्यहरु छन् । अक्सफामको अनुसार ती धनाढ्यहरुको कूल सम्पति संसारकै ९० प्रतिशत मानिसको कूल आयभन्दा बढी भइसक्यो । उनीहरुको यसखालको मेलमा फेरि एउटा खुशीको कुरा पनि यो छ कि, यदि उनीहरु यसरी एकीकृत लगानीको लागि एकठाउँमा नउभिएको भए सन् १९४५ यता यहाँ दुईवटा विश्वयुद्ध भइसक्ने थियो । त्यसले करोडौं मानिसको जीवनलीला समाप्त पार्ने थियो, त्यो चैं टरेको छ । तरपनि यसखालको लुटको लागि हुने एकता सधैं कायम रहन्छ भन्ने हुँदैन । जब उनीहरुबीच नाफामा तलमाथि पर्छ । त्यस्तो अवस्थामा फेरि द्वन्द्व हुन्छ ।
त्यसैले यस्तो समय समयमा आउने आर्थिक संकटबाट पुँजीवादले नयाँ स्वरुपमा पुनः त्यति नै समय आफ्नो आयु लम्ब्याउनेछ । क्रान्ति बाहेक यसको मृत्यु हुन्छ भनेर पर्खनु साढे र स्यालको कथा जस्तै हुनजान्छ । सामन्तवादको गर्भमा पुँजीवाद हुर्किए जस्तै समाजवाद पुँजीवादको पाठेघरमा हुर्कदैन । किनकि यसलाई पुँजिपतिहरुले पहिले नै नियोजन गरिसकेका हुन्छन् । त्यसैले पुँजीवादको विनाशमा मात्रै समाजवादको जन्म सम्भव छ । यसकारण लेनिनले भनेका थिए, बिना क्रान्ति समाजवाद आउदैन । संसदमा भोट हालेर चुनावबाट पुँजीवादलाई हटाउन सकिदैन । जब कि कर्मचारी, सेना जस्ता राज्यका सबै स्थायी संयन्त्रहरु पुरानै ब्यवस्थाको पक्षमा रहेको देशमा ५ बर्षको लागि चुनिएर बन्ने संसद लोकतन्त्रको नाममा दुनियाँलाई देखाउने नौटंकी सिवाय अरु केही हुन सक्दैन । यदि संकट आउँदा ब्यवस्था मर्ने भए ४, ५ सय बर्ष अघि युरोपबाट विकास भएको पुँजीवाद यस अघिको संकटहरुमा धेरैपटक मरिसक्ने थियो । तर मरेन र यसले आफ्नै मौलिक ढंगबाट अघि बढेको मुलुकहरु उत्तर कोरिया, क्यूबा, भियतनामलाई सधैं निशाना बनाइरह्यो । दोस्रो विश्वयुद्धमा फासीवादी नाजी तानाशाह हिटलरले सोभियत संघमा आक्रमण गर्नु गम्भीर अपराध थियो तर मानवअधिकारको पाठ सिकाउने तत्कालीन बेलायतका चर्चिल र अमेरिकाका रुजबेल्ट सोभियतमा करोडौ मान्छे मरिरहँदा रमिते बनेर हेरिरहे । इन्डोनेसियामा दशौ लाख निर्दोष कम्युनिष्टको हत्या ग¥यो । चिलिमा जननिर्बाचित सरकार प्रमूख साल्भाडोरको त विभत्स हत्या नै ग¥यो । उनीहरुको तयारी माल नकिन्ने भन्नु नै ती देशहरुको अपराध भयो ।
अर्थशास्त्रीहरु सन् १९२९ लाई विश्वमा ठूलो आर्थिक संकट आइपरेको बर्षको रुपमा मान्दछन् । त्यतिबेला पनि केहीले पुँजीवादी ब्यवस्थाको अन्त्य हुने अनुमान गरेका थिए । तर त्यस्तो भएन । किनकि पुँजीवादको निश्चित नियम हुन्छ । लगानी–उत्पादन–बिक्री–नाफा र पुनः फेरि लगानी हुँदै नाफाको चक्रमा यो निरन्तर घुमिरहनु पर्छ । थोरै गडबड आयो भने आर्थिक संकट देखा पर्छ । त्यसैले कोरोना भाइरसको कारण विश्व लकडाउनमा रहँदा यसले उत्पादन–बिक्री–नाफाको चक्रमा जुन प्रत्यक्ष असर परिरहेको छ । यसरी चक्रिय प्रणालीमा आएको संकट पुँजीवादी ब्यवस्थाको लागि मौसमी रुघाखोकी मात्रै हुनेछ । यो तातोपानी, सिटामोल खाएर केही समयमा तङ्रिन्छ र फेरि उही गतिमा बहुसंख्यक मान्छेलाई डस्न थालिहाल्छ । गहुमन सर्पले जस्तो आर्थिक संकटमा यसको फणाहरु अझ फैलन्छन् । यसले दुःखमा दया गरेर राहत दिँदैन । अमेरिकाको ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग भर्खरै रोक्ने निर्णय ग¥यो । डब्लुएचओको कूल बजेटको १५ प्रतिशत सहयोग दिने दाता राष्ट्रको यो निर्णयले निश्चय पनि स्वास्थ्य संगठनलाई गभ्भीर असर पु¥याउन सक्नेछ । पुँजिवादको कमाउने दुईवटा बलियो साधनहरु हतियार र औषधि हो । औषधिजन्य कमाईको संयन्त्र हो, विश्व स्वास्थ्य संगठन । जब आफ्नै देशमा हाहाकार भएपछि ट्रम्पले यो रोक्ने निर्णय गर्नु स्वभाविक थियो ।
पुँजीवादी ब्यवस्था नै त्यस्तो हो जसले अन्तिम अवस्थामा पनि नाफाको लागि ज्यान छाडेर लाग्छ । कोरोनाले मुलुक हाहाकार भएको बेलामा पनि नेपालमा स्वास्थ्य सामाग्री खरिदमा गर्न खोजिएको भ्रष्टाचारी, अर्बपति अग्रवालको कालोबजारी र २०७२ को महाभूकम्पको बेला जस्तापातामा गरिएको अनियमितता त केही प्रतिनिधि घटना मात्रै हुन् । विश्वमा हेर्दा पनि त्यस्तै देखिन्छ । दोस्रो विश्वयुद्धको अन्तपछि खाद्यान्न आपूर्ति हुन नसक्दा विश्वमा हाहाकार मच्चियो । सन् १९४६ मा बंगालमा मात्रै ५० लाख मानिस भोकको शिकार भए जुनबेला भारतीय ब्यापारीहरुको गोदाममा अन्न सडिरहेको थियो । एक ब्रिटिस लेखकले लेखेका छन्, त्यसबेला भारतीय ब्यापारीले एक ब्यक्तिको मृत्युमा ८४ रुपैयाँको दरले नाफा कमाएको थियो । पहिलो विश्वयुद्ध सुरु हुनुअघि अमेरिका ३ सय करोड डलरको ऋणी थियो तर विश्वयुद्धको समाप्तीपछि ऊ २ सय करोड पाउण्डको महाजन बन्यो । जब कि अरु सबै देशहरु त्यसबेला युद्धले टाट परेका थिए । यसरी यसले मौका ताकेर बस्छ र त्यसलाई खेर जान दिँदैन ।
तसर्थ, आर्थिक संकटबाट पुँजिपतिहरुलाई त्रास मात्रै उत्पन्न गराउँछ । यसको चक्रमा गडबडी हुँदा सिधा असर भने बहुसंख्यक गरिब, निमूखा जनतालाई नै पर्छ । समाजमा अनिकाल, भोकमरी, रोग, लुटपाट जस्ता घटनाहरु घट्छन् । बेरोजगारीको समस्या बढेर जान्छ । त्यसले कहिलेकाही दुई देशबीचमा, कहिले क्षेत्रीय स्तरमा र कहिले विश्व स्तरको नरसंहारकारी युद्धहरु पनि गराउँछ । जस्तो करोडौ मान्छे मार्ने दुईवटा प्रथम र दोस्रो विश्वयुद्ध त मानव समुदायले भोगि नै सक्यो । यो दुई युद्धको नाइके मुलुकहरु रुस, जापान, जर्मन, बेलायत, फ्रान्स, अमेरिका जुन जुन भएपनि कारण पुँजीवादी ब्यवस्था नै थियो । तर अब स्थिति बदलिएको छ । उनीहरु खुलेआम हतियार लिएर आक्रमण गर्न आउदैनन् । केही दिन भन्दै आउँछन् र पछाडिबाट छुरा घोप्छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्यापार संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरु अमेरिकी रेखदेख र नियन्त्रणमा बनाइएका पुँजीवादी औजारहरु हुन् । संयुक्त राष्ट्र संघलाई पनि उसले धेरैपटक उपयोग गरिसक्यो ।
यसरी पुँजीवादी ब्यवस्थाले बहुसंख्यक मानव समुदायलाई आजसम्म दुःख दिइरहेको छ । बहुसंख्यक मान्छेको पहिचान, स्वतन्त्रता, समानता र सार्वभौमिकता खोसेको छ । सीमित मान्छेको खुशीको लागि यसले अझै कति दुःख दिइरहने हो थाहा छैन ।