द पायनियर सेकेन्डरी स्कुलको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पिटि अनलाईन न्यूज- १३ फाल्गुन, २०८१ ०७:३२
- 94 Views
नवलपरासी, युवराज पुन – द पायनियर सेकेन्डरी इ. बो. स्कुलले आफ्नो २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रम नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख सूर्य प्रसाद दुबे, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, जिसन जिल्ला अध्यक्ष भरत शेर्चन, प्याब्सन जिल्ला निवर्तमान अध्यक्ष इन्द्र गुरुङ, प्याब्सन जिल्ला अध्यक्ष डम्मर गुरुङ, प्याब्सन प्रदेश वरिष्ठ उपाध्यक्ष धनराज चापागाईं, वडा अध्यक्ष मान बहादुर थापा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले गुणात्मक शिक्षा प्रवर्द्धन गर्न नगरपालिकाको प्रतिबद्धता रहेको बताइन्। उनले विगतको तुलनामा शिक्षामा सुधार आएको उल्लेख गर्दै शिक्षालाई राजनीतिकरण गर्नु नहुने र शिक्षा प्रणालीमा राजनीतिक प्रभाव परेमा त्यसले नकारात्मक असर पार्ने धारणा व्यक्त गरिन्। साथै, निजी तथा सामुदायिक विद्यालयबीच विभेद गर्नु नहुने कुरामा पनि उनले जोड दिइन्।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले विद्यालयको स्थापना कालदेखि हालसम्म ८४ जना विद्यार्थी नेपाल सरकारका विभिन्न पदमा कार्यरत रहेको जानकारी गराए। हाल विद्यालयमा ४४ जना शिक्षक/शिक्षिका कार्यरत रहेको तथा ६९२ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष मन बहादुर थापा, प्याब्सन केन्द्रीय सदस्य सुवर्ण न्यौपाने, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, चोलाकान्त रेग्मी लगायत अन्य संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा प्रमुख अतिथिले विद्यालयको वार्षिक स्मारिका द पायनियर मंजरी २०८१ को विमोचन गरेका थिए। साथै, अभिभावक तथा विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो, जसका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्यो। विद्यालयका अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
