रियाद, साउदी अरेबिया!
मोरङसुनसरी सेवा समाज साउदी अरेबियाको आयोजनामा तथा Dr. Sulaiman Al Habib Hospital, रियादको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली समुदायका २९ जना सदस्यहरूले रक्तदान गरेका छन्। यसले रियाद तथा वरपरका अस्पतालहरूमा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्याएको मोरङसुनसरी सेवा समाज साउदी अरेबियाका सचिव देबेन्द्र बिस्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार, कार्यक्रममा सहभागीहरूको उत्साहले समाजको सेवाभावलाई अझै प्रगाढ बनाएको छ। उनले यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, सहयोग र मानवताको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको व्यवस्थापनमा मोरङसुनसरी सेवा समाजले मुख्य भूमिका निर्वाह गरेको थियो भने Dr. Sulaiman Al Habib Hospital ले प्राविधिक सहयोग प्रदान गरेको थियो।
समाजले कार्यक्रममा सहभागी रक्तदाताहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। करिब ४ लाख नेपाली कार्यरत साउदी अरेबियामा नेपाली समुदायद्वारा रक्तदान कार्यक्रम आयोजना हुनु सराहनीय रहेको समाजले उल्लेख गरेको छ।