नुवाकोट–धादिङ सडक कालोपत्र: ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन योगदान
पिटि अनलाईन न्यूज
- १४ कार्तिक, २०८१ ०४:५६
- 75 Views

नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–८ स्थित राईसिंबाट म्यागङ गाउँपालिका–३, गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्रको कार्य शुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित एक कार्यक्रममा यस परियोजनाको औपचारिक शुभारम्भ गरेका हुन्।
प्रायः २० वर्षअघि ट्रयाक खोलिएको यस सडक खण्डलाई कालोपत्र गरेपछि दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उत्पादनलाई बजारसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास मुख्यमन्त्री तामाङले व्यक्त गरे।
“विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्मको १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर कालोपत्र गर्ने लक्ष्य लिएको छ,” तामाङले भने, “बाँकी छ किलोमिटर सडकलाई आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरी धादिङको खनियाबाससम्म पु¥याइनेछ।”
गत जेठ १८ गते भएको सम्झौता अनुसार चार किलोमिटर सडक विस्तारका लागि निर्माण कम्पनीले रु. १४ करोड ६१ लाखमा ठेक्का पाएको छ, जसलाई १८ महिनाभित्र सम्पन्न गर्ने जिम्मेवारी छ। बहुवर्षीय योजना अनुसार चालु आवमा रु. आठ करोड बजेट विनियोजन गरिएको छ भने बाँकी रकम अर्को वर्ष विनियोजन गरिने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए।
‘राईसिं–हर्कपुर–गोगने सडक खण्ड’को कालोपत्रले धादिङ र नुवाकोटका करिब ५० हजारभन्दा बढी स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउने नगरप्रमुख राजन श्रेष्ठले बताए। हाल उक्त कच्ची सडकमा यातायात सञ्चालन चुनौतीपूर्ण रहेकोमा कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा सवारीसाधन सञ्चालन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउन र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा सहजता आउने नगरप्रमुख श्रेष्ठको भनाइ छ।