कार्यवाहक महावाणिज्य दूत पोखरेलको बिदाइ गरियो।
- पिटि अनलाईन न्यूज
- ९ आश्विन, २०८१ ०४:१७
- 16 Views
दम्माम, साउदी अरब – साउदी अरेबियाको पूर्वी प्रान्त, दम्माममा सोमबार नेपाली महावाणिज्य दूतावास जेद्दा, साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
यो बिदाइ कार्यक्रम एनआरएनए साउदीको नेतृत्वमा, साउदीमा सक्रिय विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजित गरिएको थियो। कार्यक्रममा एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा प्रमुख अतिथि पोखरेलज्यूलाई सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा नेपाली दूतावासका अधिकारी नारायण पासवान, एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, प्रवासी एकता समाज पानसका अध्यक्ष कुबेर हुमागाई, लिम्बुवान सामाजिक मञ्चका सदस्य यावा लिम्बु, आदिवासी जनजाति महासंघ साउदीका अध्यक्ष खेम गुरुङ, नेपाल मगर संघका अध्यक्ष बम थापा, कुमाल समाजका अध्यक्ष ॐ कुमाल, हेल्प मधेसीका अध्यक्ष श्याम कुमार महतो, नेपाली साझा मञ्चका अध्यक्ष अन्जान गुभाजु, एनआरएनएका ॐ घले, बिरेन्द्र कुमार चौधरी, राजु सैयद, यासमिन बेगम, र तेज बहादुर थापालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको दौरान पोखरेलज्यूको ४ वर्षे कार्यकालमा नेपाली श्रमिकहरूको लागि पुर्याएको योगदान र संघसंस्थाहरूसँगको प्रगाढ सम्बन्धलाई विशेष रूपमा प्रशंसा गरिएको थियो। उपस्थित सहभागीहरूले पोखरेलज्यूको सरल, मिजासिलो र सहयोगी स्वभावको खुलेर तारिफ गर्दै उहाँले साउदी अरबमा नेपाली समुदायको मन जित्न सफल भएको उल्लेख गरे।
कार्यवाहक महावाणिज्य दूत पोखरेलले पनि श्रमिकहरूको समस्या समाधानका लागि आफूले निरन्तर सहयोग पुर्याएको बताउँदै, साउदीमा रहेका संघसंस्था र समाजसेवीहरूको भूमिकाको प्रशंसा गरे। साथै, भविष्यमा पनि जहाँ रहेपनि श्रमिकहरूको हकहितका लागि आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा एनआरएनए साउदी, पानस साउदी, लिम्बुवान सामाजिक मञ्च, आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, हेल्प मधेसी साउदीलगायतका संघसंस्थाहरूले पोखरेलज्यूलाई सम्मान पत्र, माया चिनो, दोसल्ला र खादा अर्पण गरी बिदाइ गरेका थिए।
यसअघि, गत शुक्रबार जेद्दामा आयोजित संविधान दिवसका अवसरमा पनि पोखरेलज्यूलाई नेपाली साझा मञ्चलगायत संघसंस्थाहरूले विशेष सम्मान गर्दै बिदाइ गरेका थिए।