साउदीको जेद्वामा किरातीहरुले मनाइयो साकेला उभौली
पिटि अनलाईन न्यूज
- ४ असार, २०८१ १५:०६
- 153 Views

जेद्वा ,साउदी अरब।
किरात राई यायोख्खा क्षेत्रीय कार्यसमिति जेद्दाले जुन १४ मा साकेला उभौली तथा यले सम्वत् ५०८४ मनाएको छ । संस्कृतिको जगेर्ना गर्ने मूल उद्देश्यकासाथ जेद्दामा रहेका किरात धर्मावलम्बीहरूले परम्परागत रूपमा मनाउँदै आएको पर्वको अवसरमा सिलिनाच नाचेर धुमधामका साथ साकेला उभौली मनाए ।
“सम्पूर्ण मुन्दुमी किरातीहरू एक हौँ, किरात सँस्कृति, लिपि, भाषा र भेषभूषाको संरक्षण गरौँ” भन्ने मूल नाराको साथ आयोजित कार्यक्रमको सभापतित्व किराया क्षेत्रीय समिति जेद्दाका अध्यक्ष खड्ग राईले गरेका थिए भने प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावासका श्रम सहचारी तम्राराज काफ्ले रहेका थिए ।
साथै, कार्यक्रममा जेद्दामा कृयाशील रहेका नेपाली संघ-संस्थाहरू तमुधी जेद्दा, तामाङ घेदुङ साउदी अरब, हातेमालो युवा क्लब, एनआरएनए आरसीसी जेद्दा, आदिवासी जनजाति महासङ्घ जेद्दा, नेपाली सेवा समिति यान्बुका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई संस्थाका सदस्य नवराज राईले मन्तव्यद्धारा स्वागत गरेका थिए ।
प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावासका श्रम सहचारी तम्राराज काफ्ले तथा , आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जेद्दाका अध्यक्ष ङिमा साङ्गे शेर्पाले मन्तव्य राखेका थिए ।
प्रवासमा रहेर पनि आफ्नो सँस्कृतिप्रति समर्पित रहेका किरातीहरूको उल्लेखनिय सकृयतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको किरात राई यायोख्खा क्षेत्रीय कार्यसमिति जेद्दाका प्रमुख सल्लाहकार प्रेम राइले बताए ।
कार्यक्रममा किरातीहरूको लोकप्रिय नाचको रूपमा रहेको सिलिनाच नाच्नुका साथै स्थानीय कलाकारहरूको बेजोड साँगितिक प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रमलाई नादा डेरी, नादिक डेरी कम्पनी, अल साफी डेरी, आइएमइ, बिरेन पानी कम्पनी, फुसिया बेकरीले प्रायोजन गरेका थिए ।
अमासिना बैँकेट हल, हराजत, जेद्दामा सम्पन्न कार्यक्रमलाई वसन्त कुलुङ्गले सञ्चालन गरेका थिए ।