मोरक्कोमा शक्तिशाली भुकम्प: ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो
रामचन्द्र तिम्सिना
- २४ भाद्र, २०८० ०६:५१
- 56 Views

एजेन्सी/
अफ्रिकी राष्ट्र मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार ३७ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्मको रिपोर्टअनुसार ६ सय ७२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
स्थानीय समयअनुसार शुक्रबार राति ११:११ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प गएको थियो । माराकेस सहरबाट ७१ किलोमिटर दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको अमेरिकी भूसर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पमा केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
भूकम्पबाट माराकेस सहर र त्यहाँबाट दक्षिणी क्षेत्रका मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।माराकेसमा रहेको राष्ट्रसंघको सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेको छ। भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
माराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रका बासिन्दा मध्यरातमा घर छोडेर भागेका थिए । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि शनिबार दिउँसो स–साना धक्का महसुस गरिएको सञ्चार माध्यमले बताएका छन् ।
भूकम्पपछि दश मिनेटसम्म बिजुली र टेलिफोन सेवा बन्द भएको थियो। सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पले नराम्ररी प्रभावित भएका पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा उद्धार कार्य निकै कठिन भएको छ। पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ। ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । क्षति तथा हताहतीको पूर्ण विवरण आउन बाँकी छ।