साफ च्याम्पियनसिपको उपाधी फेरि भारतले जित्यो
रामचन्द्र तिम्सिना
- २० असार, २०८० ०५:३८
- 79 Views

कुवेतलाई सडन डेथमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिपको उपाधि नवौँपटक उचालेको छ। डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा पनि गरेको हो।
मंगलबार राति भएको फाइनल खेलमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि च्याम्पियन छान्न टाइब्रेकरको सहारा लिनु परेको थियो।
टाइब्रेकरका सुरुका ५–५ प्रहारमा दुवै टोलीले ४–४ गोल गरेपछि सडनडेथमा गएको थियो। छैटौँ प्रहारमा भारतले गोल गर्यो भने कुवेतका कप्तान खालेद हजिआले गरेको प्रहार भारतीय गोलरक्षकले रोके। त्यसलगत्तै २६ हजारभन्दा बढी दर्शक उपस्थित रंगशाला उत्सवमा परिणत भयो।
त्यसअघि खेलको १४ औँ मिनेटमा कुवेतले अग्रता लिएको थियो। ३७औँ मिनेटमा भारतले खेल बराबरीमा ल्याएको थियो।
साफ च्याम्पियनसिपका हालसम्म भएका १४ संस्करणमध्ये भारत १३ वटामा फाइनल पुगेको छ भने ९ वटामा विजेता बनेको छ। भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९,२०११, २०१५ र २०२१ मा साफको उपाधि उचालेको छ।
यसपटक कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रुपमा सहभागी गराइएको थियो ।भारतले सेमिफाइनलमा लेबनानलाई पनि टाइब्रेकरमा हराएको थियो।