अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास “द स्टारडस्ट ईन अस” लोकार्पण
- नेत्र न्यौपाने
- ११ असार, २०८० १९:२३
- 224 Views
काठमाडौं ।
भर्खर किशोरावस्था पार गरि युवावस्थामा प्रवेश गरेका युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास “द स्टारडस्ट ईन अस” लोकार्पण गरिएको छ । माईती घर स्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. ईन्द्र कार्की, प्रोफेसर डा. राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गर्नुभएको हो ।
प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउनुहुँदै बिषय वस्तु, पात्रहरुमार्फतको कथा आदीले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गर्नुभयो । साथै उहाँ ले पढदै जाँदा अनिसको कौतुहलपुर्ण र सिर्जनसिल लेखनीले आफु बाधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताउनुभयो । सो अवसरमा कृतिकार अनिस घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजिव पात्र मार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात तारा समेतलाई दृष्टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको जनाउनुभयो ।
साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबै प्रति आभार व्यक्त गर्नुहुँदै आफनो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गर्नुभयो । प्रोफेसर डा. राजन प्रसाद पोखरेलले लेखक अनिस घिमिरे आफनो सबैभन्दा मन पर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखनी विश्व स्तरको रहेको र आफुले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गर्नुभयो । सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर अगस्टिन थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको बताउनुहुँदै उनको यो कृतिले शिक्षासेवी सबैले प्रेरणा लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोल्नुभएको थियो । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा श्रस्टाहरुले गायन तथा कवितामार्फत मनोरंजन दिलाएका थिए । २७१ पृष्ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उक्त उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनिय रहेको प्रकाशकको दाबी छ ।