प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदै।
पिटि अनलाईन न्यूज
- १७ जेष्ठ, २०८० ०६:५७
- 77 Views

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाँदै छन्। उनको टोलीमा ८८ जनाको सहभागिता रहने जनाएको छ।
प्रधानमन्त्री दाहालको औपचारिक भेटघाट र कार्यक्रम जेठ १८ गते बिहान सुरु हुने भनिएको छ। उक्त दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट हुने कार्यतालिका रहेको छ। प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिव गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल, निजी चिकित्सक युवराज शर्मासँगै चार सुरक्षा अधिकारी छन्।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा रहने भएका छन्।
मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्रसचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृहसचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल पनि भ्रमण टोली रहने भएका छन्। सहसचिव र उपसचिवहरू दिल्ली जाने बताएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाललगायत छन्।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीलगायतका प्रतिनिधि संलग्न रहने भएका छन्। प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा राख्ने तय भएको छ।
त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ। त्यहाँ उनले फोहोर व्यवस्थापनसम्बन्धी प्रोजेक्ट हेर्नेछन्। त्यहाँबाट २० गते दिल्ली फर्केपछि उनी नेपाल फर्कने तालिका तयारी गरेको जनाएको छ।
रासस