हिरासतमा बस्न घरबाटै कम्बल बोकेर तयारीका साथ पुगेका थिए आङटावा शेर्पा
रामचन्द्र तिम्सिना
- ८ जेष्ठ, २०८० ०५:४०
- 22 Views

काठमाडौ /
गत जेठ १ गते नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मासमर्पण गर्ने सूचना पहिल्यै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगिसकेको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको ठगी प्रकरणमा हाइप्रोफाइल पक्राउ पर्न थालेपछि कांग्रेसका पूर्वसांसद शेर्पा सम्पर्कविहीन भएका थिए। वैशाख २९ मा पक्राउ पुर्जी जारी हुनुअघि नै उनी गायब भइसकेका थिए।
उनले त्यही प्रकरणमा प्रहरी हिरासतमा थुनिएका अन्य आरोपीहरूलाई भेटेर बयान दिन सिकाएको खुलिसकेको थियो।
खासगरी शेर्पाले पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई यो प्रकरणबाट जोगाउने प्रयास गरेका थिए।
तर बालकृष्णलाई जोगाउन खोजेका उनले त्यहाँ पनि बेइमान गरे। खाँणले एक ५ पटकमा एक करोड रुपैयाँ फिर्ता गर्न पठाए पनि शेर्पाले ३० लाख रुपैयाँ सानु भण्डारीका दाजुलाई दिएर बाँकी ७० लाख आफैं राखेको खुलेको छ।
यी सबै कुरा भने प्रहरीले पत्ता पाइसकेको थिएन। ‘शेर्पाले हिरासतका थुनुवालाई भेटेको र पक्राउ परेका व्यक्तिले उनको पनि संलग्नता रहेको बताएपछि सामान्य सोधपुछका लागि मात्रै बोलाएका थियौं’, काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले भने।
त्यसबेला शेर्पा छोरासँग प्रहरी कार्यालय पुगेका थिए। परिसरको गेटमा आउनासाथ भित्र खबर गर्न पूर्वसूचना गरिएको थियो। तर उनी गेटमा एसएसपीलाई भेट्न हिँडेको भनेर सिधै छिरे।
सिधै एसएसपीको कार्यकक्ष अगाडि पुगेपछि मात्रै आङटावा आएको प्रहरीले थाहा पायो। प्रहरीले उनलाई सोधपुछ गरेर छाड्ने तयारी गरेको थियो। तर आङटावा हिरासत बस्ने तयारीसहित पुगेका थिए।
हिरासतमा बस्ने मनस्थितिसहित उनले घरबाटै कम्बल लगायत लुगाफाटा बोकेका थिए। परिसर पुगेर उनले एसएसपी कार्कीलाई भेटे।रासस