कोदोको तीनपाने रक्सी र गाँजालाई ‘ब्राण्डिङ’ गरौं – मन्त्री गंगानारायण श्रेष्ठ
रामचन्द्र तिम्सिना
- ७ जेष्ठ, २०८० १६:१९
- 20 Views

नुवाकोट /
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले नेपालमा कोदोको तीनपाने रक्सी र गाँजालाई ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएका छन्।
संघीय राजधानी काठमाडौंमा शनिबार पत्रकारहरुसँगको छोटो भेटघाटका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रको अर्थतन्त्रमा कोदोको तीनपाने रक्सी र गाँजा नयाँ आयाम बन्ने बताएका हुन् ।
अहिले हाम्रो ८० प्रतिशत पहाडी भूभाग बाँझो छ। तीनपाने रक्सी ब्राण्डिङ गर्ने हो भने ती सबै ठाउँमा कोदोबाली लाग्छ। हाम्रो राष्ट्रिय अर्थतन्त्रमा गाँजा र कोदो अर्थतन्त्रको नयाँ आयाम हुन सक्छ’ उनले भने, ‘हामीसँग पैसा छैन भन्छौँ। जग्गा कित्ताकाँट रोकियो भनेका छौँ ।
हामी हुने ठाउँमा चाहिँ लगानी गर्ने सोच्दैनौँ ।यस्तो हुनुमा हाम्रो ऐन कानुनकै समस्या छ।’ उनले २०३१ सालको ऐनले गाँजालाई लागूऔषध भनेर देखाएको बताउँदै भने, ‘तर, नेपाल डब्लु एचओको सदस्य हो। जसले गाँजालाई मेडिसिन भनेर परिभाषित गरेको छ। गृह मन्त्रालयले गाँजालाई नियमन गरेर ऐन संशोधन गर्यो भने गाँजा देशको अर्थतन्त्रमा आर्यस्रोत बन्नसक्छ।’