एयर ईन्डियालाई नेपालमा प्रतिबन्ध
पिटि अनलाईन न्यूज
- १३ चैत्र, २०७९ ०६:२५
- 47 Views

काठमाडौं। सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने भएको छ । ‘शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो,’ प्राधिकरणका एक उपनिर्देशकले भने, ‘त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए । तर नेपालको नागरिक उड्डयन प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाउँदै छौं । त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको छ ।’
ती उपनिर्देशकका अनुसार, यो घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि ग्राउन्डेड (कारबाही) गरिएको छ ।
शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो ।