संघीय गणतन्त्र नेपालको तेस्रो उपरास्ट्रपति निर्वाचन आज
रामचन्द्र तिम्सिना
- ३ चैत्र, २०७९ ०६:३१
- 22 Views

नुवाकोट /
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न आज मतदान हुँदै छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ। २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न मतदान हुन लागेको हो। उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् ।
लोत्से हलमा संघ र प्रदेश सांसदका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ। संघीय सांसदका लागि रातो रङ र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ। मतपत्रमा उम्मेदवारको तस्बिर राखिएको छ।
संघीय सांसदले मतदान गर्ने केन्द्रमा कृष्णशरण लामिछाने र प्रदेश सभाका सदस्यले मतदान गर्ने केन्द्रमा मन्दिरा शाहीलाई मतदान अधिकृत तोकिएको छ। मतदान प्रतिनिधिको नियुक्ति एवं मतगणनास्थलका व्यवस्थापनलगायतका पूर्वतयारी सम्पन्न भएको सहायक निर्वाचन अधिकृतले जनाएको छ।
उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा तथा प्रतिपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्। जसपाबाटै वैकल्पिक रूपमा उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी छिन् ।यद्यपि, निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम मतपत्रमा तस्बिरसहित कायमै छ।
निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार रहेको छ। निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ।
उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित हुन बहुमत अर्थात् २६ हजार तीन सय १५ मत कटाउनुपर्छ।
आठदलीय गठबन्धनको ३२ हजार दुई सय ६७ मत छ । रामसहायको पक्षमा खुलेका सात दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्तिको मतभार ३१ हजार २५ छ। राष्ट्रपतिमा गठबन्धनकै उम्मेदवारलाई मत दिएको रास्वपा उपराष्ट्रपतिमा पनि यादवलाई सहयोग गर्ने रणनीतिमा छ। रास्वपाको एक हजार पाँच सय एक मत छ।
ममता झालाई अघि सारेको जनमतको पक्षमा अहिलेसम्म आफ्नो दलको एक हजार दुई सय ४२ मत छ। एमालेकी अष्टलक्ष्मी शाक्यसँग १५ हजार तीन सय ९१ मत छ। दुई हजार चार सय ५० मत भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ। यसबाहेक नेमकिपासहित एक हजार १९ मत अनिर्णीत छ ।