प्रख्यात डा. रुइतले बहराइनका राजाबाट थापे १४ करोड बराबरको ‘इशा अवार्ड
पिटि अनलाईन न्यूज
- ९ फाल्गुन, २०७९ २२:०७
- 59 Views

मन्मा,बहराइन।
नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।
राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर (झण्डै १४ करोड नेपाली रुपैयाँ) को उक्त अवार्ड तथा पुरस्कार डा.रुइतलाई प्रदान गरेका हुन् ।
बहराइनका राजाबाट उक्त अवार्ड ग्रहणका लागि डा. रुइत ढाकाटोपी र दौरा सुरुवाल लगाएर समारोहमा उपस्थित भएका थिए । डा. रुइतलाई अवार्ड प्रदान गर्दै बहराइनका राजा हमाद बिन इशा अल खालिफाले लोकको हित गर्ने कामका अर्थमा डा. रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताए ।
इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले डा रुइत मानवको हित गर्ने अर्थमा संसारकै लागि उदाहरणीय कर्म गरेको भन्दै प्रशंसा गरे ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यस वर्षको इशा अवार्ड प्रदान गरेको हो ।
‘यो घडीमा म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई स्तुत्य सेवाका निम्ती धन्यवाद दिन चाहन्छु । मेरा अन्तराष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई म सम्झन चाहन्छु । आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’ डा. रुइतले भने