बनभोज गर्दै मगर संघ प्रवास शाखा साउदीले मनायो, माघे सकराती
- नेत्र न्यौपाने
- ३० पुष, २०७९ ११:२९
- 508 Views
दम्माम, साउदी अरब।
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत आदिवासी मगर समुदायको संस्था नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले मौलिक पर्व माघे सकराती मनाएको छ।साउदीको पुर्बी क्षेत्र खोबार कोर्नेस, किरातचोकमा शुक्रबार साउदीको सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा बनभोज गरि मनाएको छ।
कार्यक्रममा संघको कार्यबाहक अध्यक्ष बम थापा मगरले दिदिबहिनी समुहको अध्यक्ष तुलसी गुरुङ लगायत उपस्थिति चेलीहरुलाई टीका तथा दक्षिणा प्रदान गरिएको थियो भने बनभोजमा तरुल ,सकरखण्ड ,सेलरोटी लगायत विभिन्न परिकार उपलब्ध गराएर सकरातीको स्वाद प्रदान गरिएको थियोे ।दिदिबहिनी समुहको अध्यक्ष गुरुङ ,एनआरएन कर्मी बिरेन्द्र चौधरीले शुभकामना दिनुभएको थियो भने अध्यक्ष थापाले माघे सकराती पर्व बारे जानकारी दिनुभएको थियो।
अध्यक्ष थापाका अनुसार मौलिक संस्कृतिलाई थप प्रवर्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने संघको निति अनुसार विश्वभर फैलाउन साउदीमा मनाउदै आईरहेको जानकारी दिए।वैदेशिक रोजगारी सिलसिलामा साउदीमा प्राय देशभरी मगरहरु रहेको छ। सकरातीलाई नेपाल मगरले मात्र नभए थारु लगायत अन्य समुदायले मनाउने गरेको छ।
नेपालको प्राय सबै जिल्लाहरूमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदाय भित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रूपमा मगरहरूले माघेसकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रूपले मगरहरूले बाह्रमगरात (मगर ढुट), अठा/मगरात (मगर खामरपाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला-सँस्कृतिका हिसाबले मगरहरूमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे सकरातीमा दाजुभाइ दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरूले मूलको पानी र जमरा स्वरूप जौ को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरूलाई माइती दाजुभाइहरूले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौ पातीको फुल लगाई दक्षिणा अनि आर्सीवाद दिने चलन छ ।