नेपाल सरकारलाई दुबइबाट सुबास न्यौपानेको खुलापत्र: नो रिमिटेन्स दुबइमा पनि फैलिदै
नेत्र न्यौपाने
- २४ पुष, २०७९ २२:५७
- 241 Views

म अहिले रोजगारीको लागि यूएईको दुबईमा छु । १२ वर्ष भयो मैले यहाँ काम गर्न थालेको । यो अवधिमा मैले महिनैपिच्छे घरमा पैसा पठाउँदै आएको छु । महिनामा हजारौ रुपैयाँ रेमिट्यान्स पठाउँछु । मैले मात्र होइन यसरी दैनिक हजारौँ नेपालीहरुले देशमा करोडौँ रेमिट्यान्स पठाउँछन् । तर बदलामा उनीहरुले के पाउँछन् त ? घरपरिवारका सदस्यको लागि एउटा माेबाइल पनि लिन पाउँदैनन् ।
आज मलाई नेपाल सरकारसँग केही भन्न मन लागेको छ । साँच्चै भन्नुपर्दा रिस उठेको छ । खासगरि मोबाइलको भन्सार लाग्ने सम्बन्धमा । हे नेपाल सरकार, किन हामी परदेशमा भएका नेपालीहरुलाई मात्रै दुःख दिन्छौ ? हामीले घरमा एउटा मोबाइल पनि लिन नपाउने ? श्रीमती, छोराछोरी, बुवाआमा, भाइबहिनीको रहर हुन्छ, राम्रो मोबाइल चलाउने । परदेशमा कमाएपछि केही सस्तो मूल्यमा यतैबाट एक मोबाइल लगिदिउँ भन्ने हाम्रो पनि चाहना हुन्छ । तर मोबाइल लिनै नपाउने ? त्यसमै भन्सार लाग्ने, यो कस्तो नियम कानुन हो सरकार ?
उता घरमा घर परिबार भन्छन, ‘यत्रो १२ वर्ष परदेशमा बस्नुभयो, हाम्रो लागि एउटा माेबाइल पनि ल्याइदिनु हुन्न ?’
महिनाको हजारौ रुपैयाँ कमाउन सक्नेले एउटा मोबाइल किनिदिन मलाई कुनै पनि समस्या छैन । तर मोबाइलको आधा रुपैयाँ जति त भन्सारमै तिर्नुपर्ने ! परदेशमा पसिना बगाएर देशको अर्थतन्त्र बलियो बनाउने परदेशीहरु खुसी भएका किन पच्दैन सरकार ? के परदेशमा पसिना बगाएर यसरी पठाएको रेमिट्यान्सले सरकारलाई पुगेन ?
आफूले चलाइरहेको माेबाइल बाहेक अरु माेबाइलमा भन्सार लाग्छ । यो सबै गर्नुभन्दा बरु सिधै केही पनि नलिएर आऊ भन्नु नि सरकारले । किन भन्सारको बहाना बनाउँछ ? आफूले चलाएको माेबाइल बाहेक एउटा माेबाइल त कमसेकम बिना भन्सार लान देउ । के परदेशीहरुले माेबाइल धेरै ल्याएको कारण देश विकास हुन नसकेको हो र ?
यो रिसले त लाग्छ, अब रेमिट्यान्स नै पठाउन बन्द गरुँ । बरु हुन्डीबाटै पठाइदिउँ । मेरो मात्र होइन यो आक्रोश परदेशमा बस्ने सबैको हो । जुन दिन नेपाल सरकारले यो नियम हटाएर आफूले प्रयोग गरिरहेकोबाहेक कम्तीमा एउटा माेबाइल बिना भन्सार लान पाउने नियम लागु गर्छ त्यो दिनबाट मात्रै सहि तरिकाले देश र सरकारको हित हुने गरि रेमिट्यान्स गर्छु ।
परदेशीहरुले पैसा जोगाउन निकै प्रयास गर्छन् । यहाँँ सस्तो माेबाइल फोन चलाउँछन्, ता कि घर जाने बेलामा एउटा राम्रो माेबाइल लान पाउँ भनेर । यो अवस्थामा हामी के गर्ने ? ठिक छ, धेरै माेबाइल लैजाँदा देशलाई घाटा हुन्छ । त्यसमा प्रतिबन्ध लागाउनु सहि छ । तर एउटा पनि लैजान नपाउने भन्ने नियमको म विरोध गर्दछु।
–सुबास न्यौपाने,हाल यूएई