पुगेन कसैको बहुमत: सरकार बनाउन स्वतन्त्र र साना दल तानातान
रामचन्द्र तिम्सिना
- १० मंसिर, २०७९ १६:३६
- 69 Views

नुवाकोट /
निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार र संसद्को स्वरूपबारे चर्चा हुन थालेको छ।
सार्वजनिक निर्वाचन नतिजाले कुनै पनि दलको बहुमत नपुग्ने भएपछि अब नयाँ सरकार कसले बनाउला र सरकारको नेतृत्व कसले गर्ला भन्ने चासो र चर्चा हुन थालेको छ । यो चर्चासँगै स्वतन्त्र र नयाँ दलका सांसदहरू तानातानमा पर्ने देखिएको छ ।निर्वाचन नतिजाको सङ्केतपछि नयाँ सरकार बनाउन राप्रपा, रास्वपा लगायत स्वतन्त्र सांसदहरूलाई ठुला दलले सरकार बनाउन सहयोगको याचनासहित कसरत थालिसकेका छन् । ठुला दल कांग्रेस एमालेले सरकार बनाउन गर्ने कसरतमा साना दलका साथै स्वतन्त्र सांसदहरू पनि तानातानमा पर्ने देखिएका छन् ।
२०७४ को तुलनामा यस पटक प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको नतिजामा फेरबदल आएको छ । यो फेरबदलको प्रभाव समानुपातिकतर्फ पनि पर्ने देखिन्छ ।५ वर्षअघि प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसले यो पटक शनिबार दिउँसोसम्म १६५ मध्ये १४६ सिटको नतिजा आउँदा ५० सिट जित्दै पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा कांग्रेसको अझै ५ सिटमा अग्रता छ । यसअघि २०७४ मा प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टी बनेको एमाले यो पटक हालसम्म ३७ सिटमा चित्त बुझाउन बाध्य छ । ५ सिटमा अग्रता लिएको उसले त्यो अग्रता विजयमा परिणत गरे पनि ४२ सिटमात्रै प्रत्यक्षमा जित्ने देखिन्छ । यो हिसाबले पनि एमालेको अघिल्लो चुनावको तुलनामा प्रत्यक्षतर्फ ३८ सिट घट्ने देखिन्छ ।अघिल्लो पटक प्रत्यक्षमा ३६ सिट जितेको नेकपा माओवादी यस पटक ५० प्रतिशत खुम्चने भएको छ । अहिलेसम्म १६ सिट जितेको माओवादीले जारी मतगणनामा २ सिटमा अग्रता लिएको छ ।त्यो अग्रतालाई जितमा परिणत गरे उसको प्रत्यक्षतर्फ १८ अर्थात् २०७४ को तुलनामा आधा मात्रै हुने छ ।
कांग्रेस, एमाले र माओवादी बाहेक यो पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा लगायतका दल सरकार निर्माणका लागि संसद्मा निर्णायक बन्ने देखिएको छ। रास्वपाले प्रत्यक्षतर्फ अहिले ७ सिट जितेको छ भने एकमा अग्रता लिएको छ। रास्वपाले अग्रता लिएको क्षेत्रमा जित निकाले उसको प्रत्यक्षमा ८ सिट हुने देखिन्छ ।समानुपातिकमा पनि माओवादीको हाराहारीमा उसको मत पुग्ने देखिन्छ ।२०७४ मा धेरै सिट जितेका प्रमुख राजनीतिक दलहरू एमाले र माओवादी खुम्चन पुग्दा कांग्रेस केही बढ्न पुगे पनि त्यसको प्रत्यक्ष लाभ केही स्वतन्त्र उम्मेदवार र नयाँ दलले पाएका छन् ।
यो पटक प्रतिनिधि सभामा ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरण साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका छन् ।यो अवस्थामा कुनै पनि दल वा गठबन्धनले सरकार बनाउन राप्रपा, रास्वपा तथा स्वतन्त्र सांसदहरूको सहयोग अनिवार्य लिनुपर्ने हुन्छ ।यो आवश्यकतालाई ख्याल गर्दै एमाले र कांग्रेसले ती पार्टी र सांसदहरूसँग अहिलेबाटै औपचारिक अनौपचारिक संवादको प्रयास थालिसकेका छन् ।
‘कांग्रेस र एमालेका नेताहरूले सरकार बनाउन सहयोग माग्नुभएको छ। तर अहिले मैले कुनै निर्णय गरिसकेको छैन’एक स्वतन्त्र सांसदले भने, ‘ठुला दलका नेताले फोन गरेर सहयोग माग्नु स्वाभाविक हो। तर परिस्थिति हेरेर निर्णय गर्छु ।’
उनले ठुला दलहरूलाई स्वतन्त्र सांसदको समेत आवश्यकता महसुस हुनु आफ्ना लागि खुसीको कुरा भएको भन्दै अवस्था हेरेर कसलाई सहयोग गर्ने भन्ने निर्णयमा पुग्ने बताए ।यता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सहयोगको अपेक्षा गरिसकेका छन् ।यो समाचार रातोपाटिमा छ।