धादिङको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टी ।
- १९ श्रावण, २०७९ २०:४४
- 545 Views

धादिङको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि भएको छ ।
मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० रुपैँया र १०० रुपैंयाको डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो ।
मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र उनकै गाउँका शोभा तामाङ पक्राउ परेका थिए । १ किलो सुन र नक्कली नोट सहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी गरेको थियो । बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान पहेँलो धातु प्रहरीले बरामद गरेको थियो । बरामद भएको पहँेलो धातु नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङले नक्कली प्रमाणित गरिदिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।
बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरु पनि पक्राउ गरेको छ । सुन ल्याउदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रञ्जन अवाले बताए ।
एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, ठूलो परिणाममा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ । पक्राउ परेको पेस्तोल माओवादी द्धन्द्धकालदेखि नै घरमा भएको बयानमा बताएको प्रहरीले जनाएको छ । सुन भनिएको धातु भने केही वर्ष अघि अन्य व्यक्तिहरुबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको एसपी राकेश सिंहले बताए ।
पक्राउ परेका बेगे यस अघि पनि विभिन्न अपराधिक क्रियाकलापमा पक्राउ परेका थिए । दुई वर्षअघि काराकारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै व्यक्तिहरुसँग रकम असुलेको पीडितहरुले बताएका छन् ।
पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा चलाएको छ । शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।