कुहुकुहु कोइली गान सुनेँ मैले एकान्तमा
च्याप्प समाई मुटुभित्रै थुनेँ मैले एकान्तमा
दिलमा चल्दा आँधीबेहरी झल्याँस्स भै ब्युँझेँ जब
भुर्र उड्यो चरी व्यर्थै जाल बुनेँ एकान्तमा ।
**************************
महासागरको जलमा पाइने नुनिलो नमक विचित्र
शारदी बागमा मुस्कुराउने कुसुमको गमक विचित्र
अन्तस्करणको नजरले नियालेर हेर्दा देखिन्छ
रङ्गिन जिन्दगीको चमचम चम्किने चमक विचित्र ।
***************************
अँधेरीमा हुरी चल्दा बत्ती छोप्न जानेनौ कि ?
फल टिप्न जान्यौ नयाँ बिउ रोप्न जानेनौ कि ?
गौरवमयी इतिहास लेख्ने भन्थ्यौ स्वर्णाक्षरले
कालो कालो देख्छु पाना मसी चोप्न जानेनौ कि ?
************************
सुनाखरी फुलिसक्यो बुकी फुल्नेछ
काँडाभित्र गुलाफ लुकीलुकी फुल्नेछ
पूर्वी क्षितिजमा रातो रवि उदाउँदा
मुटुभित्र देशको धुकधुकी फुल्नेछ ।
भरत सिग्देल
नुवाकोट