हल्लावादमा मौलाउने राजनीति !
राम चन्द्र तिम्सिना
- ८ असार, २०७९ १०:०१
- 45 Views

नेपाली राजनीतिमा उम्रने र मौलाउने बेथितिको मुख्य जरो भनेको हो हल्लावाद नै हो ,तत्कालिन अबस्थामा असन्तुष्ट जमातलाइ अराजकताको लालिपप चटाएर आफ्ना अनुयायी बनाउने र आफ्नो स्वार्थ अनुरूपको जुवामा नारेर जोत्ने चलाक शकुनी चेत भएका मानवीय आकृतिको हल्लावादमा वसन्तको पालुवाले हावाको झोका अनुसार मुन्टो हल्लाए झै हल्लिने हामी बहुसंख्यक जनताको समर्पणकारी चेतको उत्पादन नै अहिलेको दुर्दशा हो।
प्रजातन्त्र प्राप्ति पछिको ७२ बर्षको अवस्थालाइ नियाल्ने हो भनेपनी सैद्धान्तिक कुराको आड लिएर वि पि मातृका जस्ता पात्रले मपाइत्वको होडमा १७ साल बोलाएका हुन् । उता खोपीका राजा उदण्डताको चाकाचुलीमा झुल्न उद्दत भएर मडारिदा केशरजंग जस्ता देब्रे पाटोका खन्चुवाले दरबारको भाग पुरो निल्न लम्पसार परेका पनि हुन्।
क्रान्तिकारीताको नाममा आतंक सिकेका केही अर्ध सामन्ती र केही बाहुबली झापालीले नक्सलबादलाइ गायत्री मन्त्र मानेर सर्वहाराको नाममा व्यक्ति हत्याको नाच नाचेर धेरैको बिनाश र थोरैको उच्च आवास निर्माणको रुपरेखा बनाएका हुन्।
झण्डै ५० बर्ष आघी विमान अपहरण पछि नेपाली राजस्वको ३० लाख लुटेर बन्दुक किनेर हत्याको राजनीति गर्न तम्सेको काङ्ग्रेसले टिम्बुरबोटेमा ज्यान गुमाउने २८ जनाको नाम लिएको पाइदैन केवल क्याप्टेन यज्ञ बहादुर थापाको नाम नाफा हुने अबस्थामा जपेको सुनिन्छ। ४८ को बहुमत अपच भएको काङ्ग्रेसको बण्डा गरेर देशमा ५२ साल जन्माउने पात्र अहिलेपनी चिप्रा पुछ्दै तरुनी स्वास्नी खोज्दै छन्। आफ्नो अभिष्ट पूरा गर्न बन्दुक बोकेका केही पात्र बाहेक अधिकांशले आफ्नो इच्छा पुर्याएका छन् प्रचण्ड ,बाबुराम, बादल, आदि फरक फरक पार्टीको भान्छामा भान्छे बन्न मात्रै उद्दत भेटिन्छन् , वास्तवमा व्यक्तिको पछाडि गान्धारी बनेर लाग्ने बेरोजगार जमात निस्वार्थ नै हुन्छ त्यो जमातलाइ परिचालन गरेर शासक बन्ने लालसा बोकेका पात्र चिन्न नसक्दा नरसंहार हरू लाई आवस्यक कार्य भनेर परिभाषित गर्ने पात्रहरू जतिसुकै क्रान्तिका कुरा गरेपनी केवल शक्ति बटुल्न कुर्लिने ब्वासा मात्रै हुन्।
अहिलेको अबस्थामा पनि हामी जनतामा खासै परिवर्तन आउन सकेको छैन, कुनै बेला अत्यधिक रूपमा मौलाएको गलैँचा उद्योग सबैको आकर्षण बन्यो धेरैले तान थापे केही बाहेक कालान्तरमा बिलाएर गए उद्योगवाला त कतै स्थापित भए तर मजदुर बगरमा गिट्टी कुट्न बाध्य भए, आजको अवस्था पनि उस्तै छ घुडामा फाटेको सुरुवालको फेसन चले झैँ राजनीति भाइरल संस्कारतर्फ अघि बढेको छ के त्यो फाटेको सुरुवाल कपडाको स्थायी स्वरूप हो त?
जनताको असन्तोषलाई आफ्नो वाक कटुताले आफ्ना मुरिद बनाउन खप्पिस मदन भण्डारी देखि अहिलेसम्मका सबै भाषणजिविहरूले भोट लिने काम त गरेका छन् तर विधिको शासन र जनहितकारी प्रशासन दिन सकेका छैनन् त्यसैको उप उत्पादनमा उम्रेका नवीन वाक चातुर्यमा निपुण केही खजन्तीहरू कुनै न कुनै शक्तिको सुट्केश बोकेर आएका छन् र पीडित, शोषित अनि बेरोजगार युवा मगजमा आशाको दियालो जलाउन सफल बनेका छन्। गगन थापालाइ ढुङ्गा हानेको फोटोले नेता बनाइदिन्छ, सुजातालाइ बा को थरले नेता बनाइदिन्छ, वीरेन राजवंशी ,रामनाथ दाहाल वा कृष्ण कुइकेल शिला भए परिबार गिट्टि कुट्दै होलान् मौलाउने त खड्ग जी हरू नै भए।
दिल बहादुर रम्तेलहरूका आमाहरू जलविन्दु भएका होलान् रुदारुदै तर प्रचण्ड छोरीको कुर्सी पक्का गर्दै छन्, बाबुराम जी बादल जी हरूको अंशमा पनि केही नरमुण्डको प्राण हरणको पुर्जा पर्नेछ तर बादल जी लाई हिजो उहाले नै भन्नुभएको नपुंसकलिङ एमाले पुरुष भएको छ र एमालेको पौरुषत्वमा रमाउदै छन्! बाबुराम जी नारायण बन्ने रहरमा अनेकौं तिर्थ घुम्दै उप इन्द्रको शरणमा पुगेर योगासन गर्दैछन्। बारम्बार झोल चौटा चपत गर्ने माधब जी झलनाथ जी वा बामदेव जी को सर्वहारा मुक्ति तर्फ गरेको लेस मात्रै पनि कार्य भेटिन्न, केही सिठुवा माड्ने राजाका बैठके जस्तै भारदार सबैका छन् चाप्लुसको जमात शक्तिले बनाउने हो बनाएको छ !
अब वर्तमान मा उम्रेका समानुपातिक सांसदको अभिष्ट चाहनामा दर्ता भएका पुरेत दल , अन्तर्नु दल, बैतरणी दल, मन्दिर दल, चर्च दल, मस्जिद दल जस्तै दलहरूको सञ्चालन खर्च कतै न कतैबाट दानमा आएको नै हुन्छ अन्यथा स्कर्पियोमा गुड्न सक्ने थिएनन् ! स्वतन्त्र उम्मेदवार तर्फ जनताको मत असन्तुष्टिको प्रस्फुटन मात्रै हो किनभने स्वतन्त्र प्रतिनिधि आवाज मात्रै हुन्छ तर समग्र परिवर्तनमा सामर्थ्य राख्दैन। यी स्वतन्त्रता स्वतन्त्र मैदानमा स्वतन्त्र शब्दलाई मतको माला बनाएर संसद पुग्ने अभिलाषा पनि पूरा गरिदिनेछन् नेपाली जनताले किनकी विपत्तिमा परेकाले दल्दललाइ पनि जमिन ठान्नु बाध्यता हो।
अब बिरोध गरेर नकारात्मक कुरा गरेर मात्रै समस्या सुधार गर्न सकिन्छ त? सकिन्न कदापि सकिन्न समस्याको समाधानको निमित्त बिशेष गरेर युवाहरूले जाच्ने परिक्षा लिने सामर्थ्य विकास गर्नुपर्छ आफूमा कुनै पार्टीको केन्द्रिय कमिटीमा स्थान पाउने आशाले प्रश्न गर्ने कोहि सचेतलाइ गाली गर्नु नै भ्रष्टाचारको शुरुआत हो। कसैको भक्त नबनीकन सिद्धान्तत: जनकल्याणको निमित्त धरातलमा काम गर्ने तर्फ को हिड्दैछ उसलाइ आलोचनात्मक समर्थन गरेमा मात्रै देवत्वकरण हुने समस्या आउनेछैन।
आजको समयमा रबि लामिछाने, स्वगत नेपाल , रबिन्द्र मिश्र सुरेन्द्र के सी, देव प्रकाश त्रिपाठी लगायत सबैले एउटै पार्टीमा समावेश हुन सक्छन् ?? यदि देशको हित चाहने हो भने त सक्ने थिए तर उनिहरूलाइ पार्टी अध्यक्ष र समानुपातिक सांसदको लोभ छ।
स्वागत नेपालका मुद्दा रबि जीले पनि अपनाउनुभएको छ अब तपाइँहरू जोडिनुस् अनि हामी सबैको साथ प्राप्त हुनेछ ।पहिला तपाईंहरू आफै निस्वार्थ बन्नुस् जनता छट्पटीमा छन् आउनेछन् अन्यथा पुराना इतिहास नै दोहोरिने छन् लगातार।
– शम्भु गजुरेल
नुवाकोट