नोट चल्ने भोट नचल्ने: वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार खोइ ?
पिटि अनलाईन न्यूज
- २१ बैशाख, २०७९ ०७:५२
- 171 Views

हिजोआज हाम्रो गाउँमा निर्वाचनको चहलपहल शुरु भएको देखिन्छ। पाँच वर्ष पहिले देखिएका ती पुराना र केही नयाँ अनुहारहरू देखिन थालेका छन्। कुन घरघरमाको कति उमेरका मानिस बस्छन् अनि मतदाता नामावलीमाको क-कस्को नाम छ भनेर हिसाबकिताब भइरहेको छ । सबैले यो टोलमा यति भोट र उति भोट भनेर औंला भाँचिरहेका छन् ।
दलहरुले हिजो जस्तै फेरि पनि ती र त्यस्तै खालका आश्वासनका पोकाहरू बाँड्दै छन् ।पाँच वर्ष पहिले गाउँमा यही चुनावका निहुँले मान्छेहरू आवतजावत गरेका थिए, त्यसपछि सुनसान भएको गाउँ बल्ल त्यस्तै रमाइलो देखिँदै छ । दिनभरजसो गाउँमा भएका युवापुस्ता चौताराको भट्टि पसलमा जम्मा हुन्छन्। कतिपयले त करिब एक महिना घरबाहिर मिठोमसिनो, चोक्टाचाक्टी र झोलझालले मुख फेरेरे गाउँका मतदातालाई किनबेच गरी ठेक्का नै लिन थालेका छन्।
गाउँघर तिरको समाचार यस्तो छ भने बाध्यताबस वैदेशिक रोजगारीका लागि बाहिरिएका लाखौं नेपालीको ब्यथा अलिक फरक छ।
रेमिटेन्समा हाईहाई गरेको नेपाल सरकारले मताधिकारमा भने बाईबाई गरेको छ।
संविधानले आत्मसात गरेको समाजवाद उन्मुख समाज भन्ने कुरा त्यही निर्जीव कागजमा सीमित देखिन्छ ।जनताका सामान्य भन्दा पनि सामान्य आधारभूत आवश्यकताहरू पुरा हुन सकेका छैनन् । नेताले भोटमात्र देखेका छन् तर जनताका दु:ख र पीडा देख्न सकेका छैनन् ।
कहिले यो सबैभन्दा राम्रो दल भनेर मतदान गरिए, कहिले यो सबैभन्दा राम्रो व्यक्ति भनेर मतदान गरिए, जसलाई मतदान गरियो त्यसले जित्यो तर जनताले कहिल्यै जितेनन ।
जब चुनाव नजिक आउँछ अनि उम्मेदवारहरू दिनै पिच्छे आउँछन् ।जब चुनावमा जित्छन् उनीहरूको मुहार हेर्न अर्को निर्वाचन कुर्नुपर्छ यो अवस्थाको अन्त्य आम नेपाली नागरिकले अपेक्षा गरिएको विषय हो।
रह्यो कुरो वैदेशिक रोजारीमा गएका नेपालीहरुको; सिंगो अर्थतन्त्रको आधा भन्दा धेरै हिस्सा ओगटेको रकम रेमिटेन्सबाटै आउने गर्दछ। झन्डै ८० लाख नेपाली तेस्रो मुलुकमा छन। नोट चल्ने भोट नचल्ने किन ?एउटै प्रश्न सबैको मुखबाट सुनिन्छ ।के साच्चै वैदेशिक रोजगारीमा गएकाहरुलाई मताधिकार दिने विषयमा सरकार गम्भीर बनेको छ त ?के सरकारले उनिहरुलाई मताधिकार दिने विषयमा सोचेको छ त ?प्रश्नैप्रश्न तर अनुत्तरित ।लाखौं सचेत मतदाता बाहिर पन्छाएर बुढाबुढी सोझासिधा र किशोरकिशोरिको एकतर्फी मतले न्यायोचित परिणाम देला र ?
साच्चै परिवर्तन र योग्य उम्मेदवार चुन्ने र देशले बिकासमा अर्को फड्को मार्ने हो भने वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरुलाई मताधिकारको सुनिश्चित गरिनु आजको आवस्यकता हो, मनन गरौं ।
जय देश ।
रामचन्द्र तिम्सिना (आवाज)