काठमाडौं।
अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप लगाउने नाबालिग गायिकाले अदालतको बकपत्रमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिगले आफूलाई शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको र प्रहरी आफैँले बयान लेखेको दाबी समेत गरेकी छन् ।
अदालतमा बहस गरेका एक कानून व्यवसायीका अनुसार, नाबालिग गायिकाले अदालतसँगको बयानमा प्रहरीले जबर्जस्ती विभिन्न कागजजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । नाबालिगले अचानक अदालतमा बयान फेर्नुले उनलाई होस्टाइल बनाइएको आशंका गरिएको छ । शाहविरुद्ध प्रहरीमा जाहेरी दिएका नाबालिगका बुवाको भने अदालतमा बकपत्र लिन बाँकी छ ।
नाबालिगले तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा जाहेरी र बयान दिने क्रममा पल शाहले विभिन्न प्रलोभन देखाएर विभिन्न पटक जबर्जस्ती करणी गरेको बताएकी थिइन् । पलले समेत तनहुँ जिल्ला अदालतमा बयानको क्रममा आफू मदिरा पिएर बियरको बोतल लिएर नाबालिगको कोठामा गएको स्वीकार गरेका थिए । तर, नाबालिगले नै बयान हेरेपछि यो मुद्दा कमजोर बनेको छ ।
नाबालिगले तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गत फागुन १५ गते शाह स्वयं प्रहरीसमक्ष उपस्थित भएका थिए । नाबालिगका बुबाले ११ फागुनमा तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । पल शाह अहिले अदालतको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।