हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत “२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो´´ शीर्षक राजनैतिक दस्तावेज अध्ययन गर्दा नयाँ जोस र जाँगर पलाएको महसुस भएको छ। पक्कै पनि देशभित्रका भौगोलिक तथा गैर भौगोलिक गरी नौ प्रदेश र प्रवास प्रदेशसमेत गरी दसै प्रदेशबाट प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी कमरेडहरूको घनिभुत छलफलपछि यो दस्तावेज अझै परिमार्जनसहित नेपाली समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र कोर्दै पारित हुनेछ । रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ नेपाली युवाहरूलाई स्वदेश भित्र्याएर आफ्नै देशमा उद्यम, व्यावसाय गरेर समृद्ध मुलुकका स्वाभिमानी नागरिक बन्नका निम्ति यो महाधिवेशनले ढोका खोल्न सकोस् । पटकपटक व्यवस्थाहरू परिवर्तन भएका तर नेपाली जनताको अवस्था परिवर्तन हुन नसकेकोमा यो महाधिवेशनबाट विकास हुने विचार नेपाली जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने संवाहक बन्न सकोस् । साथै, नेताहरूको वरिपरि घुम्ने तर जनता र कार्यकर्तासँग भिज्न नसक्ने नेतृत्वबाट नयाँ क्रान्तिकारी विचारलाई कार्यान्वयन गर्न सम्भव छैन। त्यसैले,यो महाधिवेशनले भेला, सम्मेलनका नाममा माथिबाट टपक्क टिपेर नेता बनाउने संस्कारको साटो क्षमता, इमानदारिता र वैचारिक स्पष्टताका आधारमा कुशल नेतृत्व निर्माण गर्ने वैज्ञानिक विधि बनाई जुझारु, समावेशी नेतृत्व चयन गर्न सकोस् ।
हार्दिक शुभकामना !
सोम तामाङ
अध्यक्ष ,नेकपा माओवादी केन्द्र ,तारकेस्वर गाउँपालिका, नुवाकोट