काठमाडौं ।
संगठित मानव तस्करको जालोमा परेर
खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाअनुसार जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उल्लंघनलगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ । प्रवक्ता निरौलाले मन्त्रालयअन्तर्गतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरू कसरी त्यहाँ पुगे, कसले पुर्यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।
स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रूपमा खाडीका देश पुर्याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन । २०७५ फागुनमा पनि भारतीय प्रहरीले उत्तरपूर्वी राज्य मणिपुरबाट १ सय ४७ महिलासहित १ सय ७९ जनालाई उद्धार गरेको थियो । त्यसअघि मिजोरमबाट २३ महिलालाई उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई आकर्षक रोजगारीको प्रलोभनमा अवैध रूपमा भारत, म्यान्मार, श्रीलंका हुँदै खाडी देश पुर्याउन खोजिएको थियो ।
मानव तस्करीको पछिल्ला वर्षको प्रवृत्ति हेर्दा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा सोझै श्रीलंकाको कोलम्बो हुँदै खाडी देशमा पुर्याउने गरिए पनि विमानस्थलमा कडाइ गरेपछि भारतका उत्तरपूर्वी मणिपुर र मिजोरमलगायत ठाउँबाट म्यान्मार र श्रीलंका पुर्याउन सुरु गरिएको थियो ।-कान्तिपुरबाट