लमजुङ ।
बेंसीसहर नगरपालिका ३ मा बसोबास गर्दै आएका १९ बर्षीय किशोरलाई हाडनाताले बहिनी पर्ने १२ बर्षीया बालिका लाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
बुधबार राती पक्राउ परेका ती किशोरलाई बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार हाडनाता पर्ने र छिमेकी घर भएकाले किशोरको नाम सार्वजनिक गरिएको छैन । जिल्लाप अस्पताल लमजुङमा सरकारी डाक्टर अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्नको लागि तालिम नलिएको भनेपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते किशोरकिशोरीबीच सम्पर्क भएको र त्यसअघि माघ महिनामा पटक–पटक शारीरिक सम्पर्क भएको भन्दै उजुरी परेको छ । पढ्न साथै किशोरको बहिनीसंग टिकटक बनाउन भन्दै किशोरी प्रायः किशोरको घरमा जानेआउने गर्दै आएकी थिइन् । घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
माघ महिनाको सुरुवातबाट किशोरको सम्पर्कमा रहेकी किशोरीको पछिल्लो समय महिनावारी रोकिएपछि आमाले सोध्ने क्रममा दाइ नाता पर्नेसंग सम्बन्धमा रहेको बताएपछि घटनाबारे परिवारले थाह पाएका थिए । परिवारले थाह पाउनेवित्तिकै प्रहरीमा उजुरी दिएपछि ती किशोरलाई बुधबार राती पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । प्रहरीले अनुसन्धान गरी किशोरविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।