व्यंग्य कविता-“हर्केको ब्यापार”
एकाबिहानै हर्के साईलिको भट्टिमा पुग्छ
ए साहुनी
यता सुन्नुस त
आज दूध चिया होईन
कालो चिया पनि होईन
एक गिलास कोदोको दिनुस त।
साहुनिले टेबुलमा लोकल राखेर
आफ्नो काममा ब्यस्त हुन्छिन।
हर्केले टेबलको रक्सि पुलुक्क हेर्यो
अनि घुटुक्क थुक निल्यो।
थुकको सितन बनाएर तनतन रक्सी हुल्यो
गिलास टेबलमा बजारेर चुरोट झोस्दै सोच्यो।
वाह
व्यापार त यस्तो पो।
निर्बल बलवान्
बूढो जवान
लंगडो तगडा र
लाटो बोल्ने ।
खनखन पैसो झर्ने
बेच्न जानू नपर्ने
ग्राहक बोलाउनु नपर्ने
आगो झोस्नु नपर्ने
न पकाउनु पर्ने न तताउनु पर्ने
वाह
ब्यापार त यस्तो पो।
अर्को गिलास तिनिक्क तन्काएर
हर्के जुरुक्क उठ्यो
अनि लरबरिंदै बाटो लाग्यो।
स्कुल जाँदै गरेको छोराछोरीलाई देख्यो
बोली लर्बराउँदै ज्ञान बाँढ्न थाल्यो।
हेर बाबू नानिहरु
पढेर जागिर पाईने होईन क्यारे।
अब स्कुल भत्काएर भट्टि पसल खोल्नु पर्छ।
युवामा जोश र जांगर भराउनु पर्छ
बूढो जवान बनाउँनु पर्छ।
स्कुल भत्काएर भट्टि पसल खोल्नु पर्छ।
रामचन्द्र तिम्सिना
म्यागङ ५ नुवाकोट