बासुदेब न्यौपाने
काठमाडौं,
सिन्धुपाल्चोकको इन्द्रावती गाउपालिका वडा नं. ११ ले वडा वासीहरुलाई सतर्क रहन अनुरोध गरेको छ । वडाले मंगलबार सूचना जारी गरी देशभरी कोरोनाको महामारी बढ्दै गएकोले वडावासीहरुलाई सतर्क रहन अनुरोध गरेको हो । वडामा अहिलेसम्म एक जना पनि कोरोना संक्रमण नदेखिएको र चार्डपर्व नजिकिँदै जाँदा वडा बाहिरबाट आउँनेहरुबाट स्थानीय थप सतर्क रहनुपर्ने बताइएको छ ।
त्यस्तै कोरोना भाइरस व्यापक रुपमा फैलिएको र यसबाट बँच्न जनप्रतिनिधि, वृद्धिजिवी, विद्यालय र विभिन्न क्लबहरुले जनचेतनामुलक कुराहरुमा जोड दिनुपर्ने देखिएको छ । स्वास्थ क्षेत्रमा अहोरात्र खटिरहेका र सुरक्षा क्षेत्रमा खट्नेहरुलाई सम्मानको व्यवहार गर्नु सबैको कर्तव्य भएको उल्लेख छ । त्यसैगरी देशका विभिन्न स्थान र विदेशबाट वडामा प्रवेश गर्ने सम्पूर्णले वडामा अनिवार्य रुपमा जानकारी गराउँनु पर्ने छ । स्थास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ मापदण्ड पूरा गरि घर परिवारमा सामाजिक दूरीलाई ख्याल गर्न पनि अनुरोध गरिएको छ ।
साथै वडामा संचालित पसल तथा विभिन्न ब्यापारिक कार्यलाई पनि निश्चित समयमा खोल्न र सबै आधारभूत स्वास्थ्य मापदण्डलाई ख्याल गर्न भनिएको छ ।
वडाले विहन ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । अत्यावसेक सेवावाहेकका पसलहरु तोकिएको समयबाहेक सञ्चालन गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै सम्पूर्ण वडाबासीलगायत देश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्णलाई यस्तो विषम परिस्थितिको ख्याल गरि चाड पर्व मनाउन वडा अध्यक्ष मने माझीले आग्रह गरेका छन् ।
